महाराजगञ्जको होटलमा बर्थडे केक काटेकै अवस्थामा पक्राउ परेको चक्रे मिलन, टिकटकमा उद्दण्ड

काठमाडौं– महाराजगन्जबाट पक्राउ परेका गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले उद्दण्ड दृश्यसहितका टिकटक आउन थालेपछि निगरानीमा राखेको जनाएको छ । सार्वजनिक सडक नियन्त्रणमा लिएको दृश्यसहित चक्रेले टिकटक सार्वजनिक भएका थिए ।
गए राति प्रहरीले साम्बला होटलको आठौँ तलाबाट गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ गरेको थियो । उक्त दृश्य भाइरल भएपछि बिहीबार उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले उपत्यकाका तीनै जिल्लासहित अपराध अनुसन्धान प्रमुखलाई बोलाएर निगरानी राख्न भनेका थिए ।
त्यसपछि प्रहरीले निगरानी बढाएको थियो । उनले जन्मदिनको अवसरमा बिहानै पशुपतिनाथ मन्दिरमा पैसा बाँडेको भिडिओ पनि पोष्ट गरेका थिए ।
उनीहरू अर्का गुण्डा नाइके दीपक मनाङेको प्रभाव क्षेत्र मानिने ठमेल क्षेत्रमा जाने तयारीमा रहेको प्रहरीलाई सूचना पुगेको थियो ।
ठमेल एलओडीमा चक्रे मिलनको टोली आउने तयारी र त्यहाँ मनाङेका समर्थक भेला भएपछि मुठभेडको सम्भावनासमेत बढेको थियो ।