उपसभामुख रानालाई हटाउन कांग्रेस–एमाले सांसदको हस्ताक्षर सुरु

काठमाडौं– उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारुढ नेकपा एमालेको संसदीय दलमा हस्ताक्षर थालिएको छ । जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा डाकिएको थियो ।
आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा बोलाएको एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा धमाधम हस्ताक्षर गराएको हो । अहिले आफूहरू उपस्थित भएर हस्ताक्षर जारी रहेको एक सांसदले नेपाल प्रेसलाई बताए । एमाले सांसद मुख्य सचेतकको कार्यकक्षमा छिरेर हस्ताक्षर गर्दै निस्किरहेका छन् ।
उपसभामुख इन्दिरा रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।
कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित हुने गरी बोलाइसकेको छ । त्यसअघि कांग्रेसको पदाधिकारी बैठक जारि छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।
एमालेका एक सांसदका अनुसार दुई बजेसम्म हस्ताक्षर गर्नेगरी सांसदहरूलाई खबर गरिएको छ । कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो ।
महान्यायाधिवक्ता रमेश बडालसहित उनीहरूले छलफल गरेका थिए । उक्त छलफलमा सामाजिक सञ्जाल नियमन गर्नेबारे सर्वोच्च अदालतको फैसलाको मात्र होइन उपसभामुखको महाभियोगबारे पनि छलफल भएको थियो । त्यही छलफलपछि मंगलबार नै त्यो प्रक्रिया अघि बढाउन दलहरु लागेका हुन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक केही बेरमा सुरु हुँदै छ। सांसदहरू आउने क्रम जारी रहेको र सबै आइपुगेलगत्तै बैठक सुरु हुने एमाले सांसद राजकुमार गुप्ताले जानकारी दिए।
बैठकका एजेन्डाबारे कुनै जानकारी दिइएको छैन। ‘भोलि संसद् बैठक छ, सायद यसै विषयमा छलफलका लागि होला’, गुप्ताले नेपालखबरसँग भने।
तर एमालेकै अर्को स्रोतले भने सांसदहरूको हस्ताक्षर संकलन गर्न एमाले संसदीय दलको बैठक राखिएको बताएको छ। ‘सांसदहरूको हस्ताक्षर संकलन गर्ने कुरा छ तर कुन प्रयोजनका लागि भनेर अहिलेसम्म बताइएको छैन’, स्रोतले नेपालखबरसँग भन्यो। उता कांग्रेसले पनि त्यही तयारी गरिरहेको छ ।