अमेरिकाले भारतीय निर्यातमा लगायो ५० प्रतिशत शुल्क, अर्थसँगै रोजगारीमा प्रभाव पर्ने अनुमान

काठमाडौँ– भारतबाट अमेरिकामा हुने ज्यादातर वस्तुको निर्यातमा अमेरिकाले ५० प्रतिशत आयात शुल्क लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग तेल खरिद गरिरहेको भन्ने निहुँ पारेर भारतमाथि ५० प्रतिशत आयात शुल्क लगाएका हुन् ।
विश्वमा बिक्री हुने ८० प्रतिशत भन्दा ज्यादा हिराको कटिङ र पोलिसिङको काम भारतमा भइरहेको छ। तर यो हिराको सबैभन्दा ठूलो बजार अमेरिका हो । तर पछिल्ला वर्षमा हिराको विश्वव्यापी माग घटिरहेको थियो। त्यसमाथि अमेरिकी शुल्कले गुजरातका झन्डै एक लाख हाराहारी साना तथा ठूला हिरा कारखानाहरू अब बन्द हुने स्थितिमा पुगेका छन् ।
भन्सार महसुलका रूपमा लिने यस्तो शुल्क बढाइएपछि भारतमा लाखौंको सङ्ख्यामा मानिसहरू बेरोजगार हुने भएका छन् । यो व्यवस्था अमेरिकी समय अनुसार आज राति १२ बजे पश्चात् लागू हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बारम्बार आफ्ना किसान, पशुपालक र मछुवारेहरूको हितमाथि कुनै सम्झौता नगर्ने बताउँदै आएका छन् ।
खासगरी उत्तर प्रदेशका दशौँ हजार छाला तथा जुत्ता उद्योगहरू, गुजरातका गार्मेन्ट उद्योगहरू र हिराको कटिङ तथा पोलिसिङ गर्ने उद्योगहरू ज्यादा प्रभावित हुने देखिएको छ । कतिपय अर्थशास्त्रीहरूका अनुसार हिरा भन्दा पनि गार्मेन्ट र छाला उद्योगहरू ज्यादा जोखिमपूर्ण हालतमा छन्। हिरामा ठूला व्यवसायीहरू संलग्न भएपनि गार्मेन्ट तथा छाला उद्योगहरूमा सानो एवं मझौला उद्यमीहरूको बाहुल्यता छ ।
भारतीय श्रम बजारमा पर्ने यस्तो चपेटाले त्यहाँ कार्यरत कयौँ नेपालीहरूको पनि रोजगारी खोसिन सक्ने जोखिम छ। यी क्षेत्रमा कति नेपाली कार्यरत छन्, तीमध्ये कतिको रोजगारी जोखिममा छ भन्ने कुनै आधिकारिक तथ्याङ्क छैन ।त र भारतको विकल्पमा पाकिस्तान, बाङ्गलादेश, चीन, भियतनाम, मेक्सिकोजस्ता मुलुकबाट वैकल्पिक आयात हुनसक्ने वस्तुहरूमा अमेरिकाले भारी शुल्क लगाएको छ ।
अमेरिकाले जेनेरिक औषधि सहित केही वस्तुमा आयात शुल्क नलाग्ने भनेको छ । अमेरिकाका लागि अत्यन्त आवश्यक पर्ने र भारतको वैकल्पिक स्रोत नभएका वस्तुहरूमा उसले आयात शुल्क लगाएको छैन । अमेरिकाले उसको देशमा उत्पादित कृषि वस्तु र दुग्धजन्य पदार्थ भारतीय बजारमा शून्य भन्सारमा बेच्न पाउनुपर्ने शर्त राख्दै आएको छ ।
यस्तो प्रस्ताव स्वीकार गर्ने हो भने लगभग ७० प्रतिशत भारतीयहरू निर्भर रहेको कृषि, पशुपालन र मत्स्य व्यवसाय ध्वस्त हुन सक्ने भारतीय अधिकारीहरूले बताउँदै आएका छन् । अमेरिकाले रुसी तेलको आयातलाई कारण देखाइरहे पनि उक्त अधिक आयात शुल्क लगाउनुको पछाडि भारत र अमेरिका बीच चलिरहेको व्यापार वार्ता मुख्य कारण ठानिन्छ ।
अमेरिकी निर्यात बन्द भएपछि अरु मुलुकका आयातकर्ताले पनि भारतीय निर्यातकर्ताहरू समक्ष ज्यादा मोलमोलाई (बार्गेनिङ) गर्न सक्ने, र यसबाट भारतीय उत्पादकहरू थप प्रभावित हुने आशंका गरिएको छ । त्यस्तो अवस्थामा भारतमा पढ्ने बेरोजगारीको सङ्ख्या अझ चुलिन सक्छ। यस प्रकारको खराब परिस्थितिसँग जुध्न भारत सरकारले विभिन्न विकल्पहरूको खोजी गरिरहेको बताइएको छ ।