१८–३५ वर्षका मात्र युवा

१८–३५ वर्षका मात्र युवा
  • १२ भाद्र २०८२, बिहीबार १०:३७

काठमाडौं– मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा नेपाली युवाको उमेर १८–३५ वर्ष कायम भएकाले अब सोही समूहकालाई ‘युवा’ भनिने छ । यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति–२०७२ मा युवाको उमेर समूह १६–४० वर्ष थियो ।

mulpatra

युवा नीति २०८२ ले युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्र निर्माणमा युवाको सार्थक सहभागिता र भूमिका बढाउने विषयलाई मुख्य ध्येय बनाएको छ ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले ‘राष्ट्रिय रुपमा बालबालिका ऐनले १८ वर्षसम्मकालाई बालबालिका मानेको र अन्तर्राष्ट्रिय परिवेशलाई समेत मध्यनजर गरेर युवाको नयाँ परिभाषा गरिएको जानकारी दिए ।

परिमार्जित राष्ट्रिय युवा नीतिमा भनिएको छ, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिनेछ उनको भनाइ छ । उनका अनुसार नयाँ युवा नीतिले ‘स्वस्थ, शिक्षित, सकारात्मक सोचयुक्त, नैतिकवान्, उद्यमशील, सिर्जनशील, कर्तव्य तथा दायित्वप्रति निष्ठावान् र अधिकारप्रति सचेत युवा शक्तिको विकास, संरक्षण र परिचालन गर्न’ जोड दिएको छ ।

युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउन नयाँ युवा नीतिमा स्टार्टअप, व्यवसाय सम्बर्धन केन्द्र, एकल बिन्दु सेवा केन्द्र, करिअर काउन्सिलिङ जस्ता कार्यक्रममा जोड दिइएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले जानकारी दिए । यसैगरी युवा नीतिमा भनिएको छ, ‘अनुसन्धान, अन्वेषण र प्रविधिमा युवाको समावेशी सहभागिता, सहज पहुँच, उच्चतम उपयोग र साइबर सुरक्षा सुनिश्चित गरी प्रविधिमैत्री राष्ट्र निर्माण गरिनेछ ।’

ाष्ट्रको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा दीगो विकासमा युवा परिचालनको सुनिश्चितता गर्न एवम् राष्ट्रियताको भावना जागृत गराउँदै समाज रूपान्तरण र राष्ट्र निर्माणमा युवाहरूको नेतृत्वदायी भूमिका बढाउन’ युवा नीतिमा जोड दिइएको छ ।

व्यावसायिक सुरक्षाको प्रत्याभूति, व्यवसायिक बीमा, सहुलियतपूर्ण कर्जा र कर छुट तथा उत्पादनको बजारीकरण मार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी मानव पुँजी निर्माणमा यस नीतिले सहयोग पुग्ने विश्वास छ ।

विभिन क्षेत्रमा रोजगारी र स्वरोजगारीका कार्यक्रम, परम्परागत सिपको आधुनिकीकरण, परिमार्जन, हस्तान्तरण, हरित कृषि रोजगार कार्यक्रम र सीपमूलक एवम् व्यावसायिक तालिम, अवसर तथा पुरस्कार सहितका उद्यमशीलता प्रतियोगिता सञ्चालन गर्ने बारे पनि युवा नीतिमा समेटिएको छ ।