पहिलो महिला प्रधानमन्त्री बन्दै सुशीला कार्की, तीन सदस्यीय मन्त्रिपरिषद गठन हुँदै

काठमाडौँ । नेपालको इतिहासमै पहिलो पटक महिला नेतृत्व अन्तर्गत अन्तरिम सरकार गठन हुने भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनी देशको पहिलो महिला प्रधानमन्त्री बन्न लागेकी हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताका युवाहरूको आन्दोलनपछि राजीनामा दिएसँगै कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्ने तयारी भएको छ र मन्त्रीहरूको नाम टुंग्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
राष्ट्रपति कार्यालय शितल निवासमा आज साँझ भएको सहमतिअनुसार कार्कीले राति ९ बजे पछि शपथ लिने तयारी छ। शपथलगत्तै पहिलो मन्त्रिपरिषद बैठक बस्ने र त्यहाँबाट प्रतिनिधिसभा विघटन गर्ने तथा नयाँ निर्वाचनको मिति तय गर्ने सिफारिस राष्ट्रपतिसमक्ष पेस गर्ने सहमति भएको छ।
कार्कीले यसअघि पनि नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन्। न्यायपालिकामा हक्की र इमान्दार स्वभावका कारण चर्चित बनेकी उनी आठ वर्षपछि कार्यपालिकाको नेतृत्व सम्हाल्न पुगेकी छन् ।
तीन सदस्यीय मन्त्रीमण्डलमा ओमप्रकाश अर्याल, बालानन्द शर्मा, कुलमान मध्ये दुई जना चयन हुने सम्भावना छ ।
जेनजी युवाहरूको आन्दोलनले देशका तीनै अंग संकटमा पारेपछि बनेको यो सहमतिको आधारमा अब कार्कीको नेतृत्वमा अन्तरिम सरकारले आगामी निर्वाचनसम्म मुलुकलाई अघि बढाउने जिम्मेवारी लिने भएको छ।