Close

Recent Posts

देउवाबाट वडादशैंको शुभकामनाः भदौ २४ को घटना अकल्पनीय र दुःखद्

देउवाबाट वडादशैंको शुभकामनाः भदौ २४ को घटना अकल्पनीय र दुःखद्
  • १३ आश्विन २०८२, सोमबार १२:२१

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको वडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै भदौ २४ गतेको हिंसात्मक गतिविधिलाई नेपालको इतिहासमै अकल्पनीय र अत्यन्तै दुःखद् घटना भएको बताएका छन्।

mulpatra

देउवाले जनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा उत्पन्न घटनाले मुलुकका प्रमुख संवैधानिक निकाय, राजनीतिक दलका कार्यालय, व्यावसायिक प्रतिष्ठानदेखि सर्वसाधारणको निजी सम्पत्तिसम्म ठूलो मात्रामा क्षति पुर्‍याएको उल्लेख गर्दै खर्बौंको नोक्सानी भएको बताएका छन्। उनले राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतलगायतका संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

“नेपालको इतिहासमा यो घटना अकल्पनीय र दुस्खद भएको छ,” देउवाले शुभकामना सन्देशमा भनेका छन्।

देउवाले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

त्यसैगरी उनले कुनै पनि विशेष परिस्थितिमा मुलुकका राजनीतिक जटिलताको समाधान संविधानकै परिधिमा खोजिनुपर्नेमा जोड दिएका छन्। “सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान र आकांक्षाबाट बनेको संविधान नै सबै जटिलताको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित गर्ने आधार हो,” उनले बताएका छन्।

भदौ २४ गतेको घटनाक्रममा देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजू राणा माथि समेत आक्रमण भएको थियो।