पृथ्वी राजमार्ग सवारी आवागमन बन्द भयो
काठमाडौँ । पृथ्वी राजमार्गमा पर्ने धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएपछि यातायात पूर्ण रुपमा बन्द भएको छ ।
लगातार बर्षाका कारण अन्य केही ठाउँमा समेत ससाना पहिरो खसेकोले नागढुंगाबाट चितवन जाने सवारीलाई प्रहरीले रोकिरहेको जनाएको छ । उता चितवनबाट आउने सवारी साधनलाई समेत सडक अवरोध यथावत् रहेको भन्दै चितवनमै रोकिएको छ ।

लगातार बर्षाका कारण पहिरो पन्छाए पनि झरिरहने समस्या देखिएको छ । शुक्रबार रातिदेखि निरन्तर परिरहेको पानीले नागढुंगा–मुग्लि सडक खण्डको ठाउँठाउँमा पहिरो खसेको ट्राफिक प्रहरीले माइकिङमार्फत् जानकारी गराइरहेको छ।
‘धादिङका विभिन्न स्थानमा पहिरो आएको र तत्काल खुलाउने सम्भावना नरहेकाले, सम्पूर्ण चालक, सहचालक महानुभावहरू, पहिरो आएर फर्कन नसक्ने स्थिति हुनसक्छ, तपार्ईहरूलाई तत्काल यहाँबाट पठाउन स्थिति छैन। सुरक्षित तवरबाट काठमाडौं फिर्ता भइ सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौं,’ ट्राफिक प्रहरीले माइकिङमार्फत् जानकारी गराइरहेको छ।
