भागेका ५ हजार ६९७ कैदीबन्दी खोज्दै सरकार

काठमाडौं । जेनजी प्रदर्शन तोडफोड र आगजनीमा परिणत भएपछि देशका विभिन्न कारागार र सुधारगृहबाट भागेका १४ हजार ५ सय बढी कैदी मध्ये ५ हजार ६ सय बढी कैदी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
कारागार र सुधारगृहबाट भागेका मध्ये ८ हजार ५ सय १० कैदी र ३ सय ४१ सुधारगृहका गरि ८ हजार ८ सय ५१ जना कारागार फर्केका छन् । रास्वपा अध्यक्ष रवि लामिछाने लगायत भागेका कैदीबन्दीहरु केही दिन पछि पुनः कारागार फकिएका थिए ।
भागेका कैदीबन्दीलाई फर्कन गृह मन्त्रालयले हिजो सोमबार सम्म दिएको समय सकिए पनि उक्त संख्याका कैदीबन्दी नफर्किएका हुन् । देशभरि विभिन्न कसुरमा कारागार बसिरहेका कैदी फरार भएपछि अन्र्तराष्ट्रिय रुपमा समेत नेपालको कैदी बन्दी प्रवेश गर्न सक्ने भन्दै सचेत भएका थिए । दुबई, कतार जस्ता देशले भिजिट भिषा बन्द र कामदार भिषा समेत कठिन बनाएको थियो ।
कतिपय स्थानमा जघन्य अपराधमा कैद भुक्तान गरिरहेका कैदी समाजमा देखिन थालेपछि असुरक्षित महसुस गरिरहेका छन् । केही दिन अघि त्यस्ता अपराधीले फेरी व्यक्ति हत्या गरेको प्रहरीले नै सार्वजनिक गरिसकेको छ ।
भागेका कैदीबन्दीबाट समाजमा हुन सक्ने भय र त्रास बाट बच्न मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको छ । गृह मन्त्रालयले सोही कार्यादल मार्फत भागेका ५ हजार ६९७ कैदीबन्दीको खोजी तिब्र बनाएको छ ।