बलमिच्याईँको सरकार संविधान विपरित छः ओली

बलमिच्याईँको सरकार संविधान विपरित छः ओली
  • २३ आश्विन २०८२, बिहीबार १७:२९

काठमाडौँ । आज गुण्डुमा भएको एमाले कार्यकर्ताको भेलामा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई संविधान विपरीत र लोकतन्त्रविरोधी भन्दै आलोचना गरेका छन्। उनले अहिले देशमा रहेको सरकार संविधानअनुसार नभई बलमिच्याईँ र राजनीतिक षड्यन्त्रबाट बनेको दाबी गरेका छन्।

mulpatra

कार्यक्रममा बोल्दै ओलीले भने, “देशमा सरकार त छ, तर यो संविधानअनुसार बनेको सरकार होइन। बलमिच्याईँले बनाइएको, संविधानको आत्मा मिचिएको सरकार हो।” उनका अनुसार प्रधानमन्त्री बन्नकै लागि संसद् भङ्ग गर्ने सर्त राख्ने कार्य लोकतान्त्रिक अभ्यासको अपमान हो।

उनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई लक्षित गर्दै भने, “प्रधानमन्त्री बन्नु अघि नै संसद् भङ्ग गर्ने सर्त राखेर सरकार बनाउनु संविधान र जनताको सार्वभौमसत्तामाथिको प्रहार हो।” संविधानले पूर्व न्यायाधीशहरूलाई सरकारी लाभका पदमा रहन निषेध गरेको स्पष्ट प्रावधान रहेको उनले स्मरण गराए।

mulpatra mulpatra mulpatra

एमाले अध्यक्ष ओलीले अहिलेको सरकारलाई अराजकता फैलाउने र राज्य आतंक सिर्जना गर्ने सरकार भएको भन्दै अराजकता स्थायी नहुने दावी गरेका छन् ।

उनले जेनजीहरू लगायत नयाँ पुस्ताको भावना पनि कानुनी राज्य, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नमा जोड रहेकोले हामी सोही लक्ष्यमा प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

ओलीले सरकारद्वारा बनाइएको भ्रष्टाचार छानबिन आयोगलाई “नक्कली र पूर्वाग्रही” भन्दै अस्वीकार गर्ने घोषणा समेत गरेका छन् । पहिले नै केपी ओलीलाई थुन्नुपर्छ भन्नेहरू नै आयोगमा रहेकाले आयोगको औचित्य नभएको बताएका छन् ।

Image Source: © https://mulpatra.com

उनले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै भने, “असंवैधानिक रूपमा संसद् भङ्ग गरिएको छ, राजनीतिक दलहरूमाथि दमन भइरहेको छ, र लोकतान्त्रिक प्रणालीलाई निष्प्रभावी बनाउन खोजिँदैछ। यस्तो सरकार नेपाली जनताको प्रतिनिधि होइन।”

ओलीले देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने अभियान शुरु गर्नु पर्ने आवश्यकता रहेको बताउँदै “अब असंवैधानिक रूपमा विघटित संसद् फिर्ता गरेर देशलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनुपर्छ। यही हाम्रो बाटो हो।” भनेका छन् ।

उनले देशभरका नागरिक र युवालाई शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न सक्रिय भूमिकाका लागि आह्वान गर्दै भने, “देशको अस्तित्व जोगाउन, राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमान रक्षा गर्न अब जनता आफैँ तयार हुनुपर्छ।”

उनले हामी भ्रष्टाचारविरुद्ध, अराजकताविरुद्ध र विदेशी प्रभावविरुद्ध लडिरहेका छौँ। यो देश साझा हो, विभाजन र भय सिर्जना गर्ने विरुद्ध एकजुट हुन समेत आव्हान गरेका छन् ।