राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ: मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन् ।
आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।’
रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका– १० राजदुवाली आइपुगेका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिनेछन् ।
उनले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गरेका छन् । यही १८ असोजको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ ।