बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ ।

केन्द्रीय बैंकले आज (असोज २६ गते) फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निः शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
यो ७ दिने निक्षेप संकलन उपकरणको कात्तिक २ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन् ।
