मलेसियाका १७ भन्दा बढी सेक्युरिटी कम्पनी कालोसूचीमा

काठमाडौं– क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाली कामदारलाई करार सम्झौता अनुसार सेवा सुविधा नदिने दर्जनभन्दा बढी सेक्युरिटी कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । ती कम्पनीलाई कारवाहीका लागि सिफारिसका पत्रचार समेत गरिएको दूतावासका काउन्सिलर श्रम कृष्णप्रसाद भुसालले जानकारी दिए ।
भुसालले मागपत्र प्रमाणीकरण अघि नेपाली कामदारले न्यूनतम तलब पाए नपाएको एकिन गर्ने गरिएको बताएका छन् । मलेसिया रोजगारीमा आएका नेपाली कामदारलाई दूख दिने, समयमा तलब नदिने र करार सम्झौता बाहिर काम लगाउने कम्पनी कालोसूचीमा राखिएको हो ।
मलेसियाले गत फेब्रुअरीदेखि नै कामदारको तलब न्यूनतम १५ सय रिँगेट कायम गरेको भएपनि केही सेक्युरिटी कम्पनीहरूले अहिलेसम्म बढेको तलब नदिएको गुनासो रहेको छ ।