सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छ, ‘फ्याक्ट चेक’ गर्ने ‘टास्क फोर्स’ बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्चालमा आतङ्क मच्चिएको बताएका छन् । प्रेस काउन्सिल नेपालका पदाधिकारीसँग कुरा गर्दै उनले सामाजिक सञ्चालको माध्यमबाट आरोप लगाउने, गालीगलौज गर्ने र तल्लोस्तरमा गालीदेखि आक्रमणसम्मका कार्य हुन थालेकाले राज्यका संरचनाहरू गम्भीर हुनुपर्ने बताए ।
‘सामाजिक सञ्जालको गतिविधिले नागरिकहरू अन्यौलमा परेको महसुस भइरहेको छ । सरकारी निकायमा दर्ता, नवीकरण र सुचीकृत भएका सञ्चारमाध्यमहरूको हामीले जिम्मेवारी लिनुपर्छ । व्यक्तिगत हकमा भने अनुसन्धान गर्ने राज्य अन्य निकाय छन्, तिनले हेर्छन्,’ उनले भने, ‘विभिन्न सञ्चारमाध्यमहरू करिब २० हजारको हाराहारीमा छन् कि भनेर छलफल गरिरहेका छन् । हामीले कसरी अनुगमन, नियमन गर्ने ? र कारबाहीको दायरासम्म ल्याउने भन्ने बारेमा प्रेस काउन्सिल गम्भीर बन्नुपर्छ भन्ने लाग्छ ।’
उनले काउन्सिल स्वायत्त निकाय भएको हुँदा ‘कसैलाई काखा र कसैलाई पाखा’ नगर्न समेत आग्रह गरे । उनले ‘काउन्सिललाई कस्तो जनशक्ति चाहिन्छ, कस्तो स्रोतसाधन चाहिन्छ’ भन्नेबारे एक हप्ताभित्र विवरण लिएर आउनसमेत निर्देशन दिए ।
‘यो निर्वाचनका लागि बनेको सरकार हो । तर, म काउन्सिल बलियो बन्नुपर्छ भन्ने मान्यता राख्छु । आवश्यक थप बजेटका लागि अर्थमन्त्रीसँग समेत छलफल गर्नेछु’, उनले भने ।खरेलले ‘सामाजिक सञ्जालमार्फत आएका समाचार सही वा गलत छन्’ भन्नेबारे थाहा पाउन ‘फ्याक्ट चेक’ आवश्यक हुने भन्दै ‘टास्क फोर्स’ बनाउनुपर्ने बताएका छन् । प्रेस काउन्सिलका पदाधिकारीसँग कुरा गर्दै उनले एक हप्ताभित्र ‘टास्क फोर्स’ बनाउन निर्देशन दिएका छन् ।
मन्त्री खरेलले एआई प्रयोग गरेर जिउँदो मान्छेलाई मरेको र मरेका मान्छेलाई जिउँदो बनाउने गरिएको भन्दै त्यस्ता समाचारले समाजमा गलत सूचना प्रवाह भइरहेको हुँदा रोक्न आवश्यक रहेको समेत बताए ।