घरजग्गा कारोबार ठप्प हुँदा गैरबैंकिङ सम्पत्ति थुप्रिँदै

काठमाडौं– नेपालको रियल इस्टेट बजार पछिल्ला महिनामा सुस्त हुँदै गएको छ । घरजग्गा कारोबार घट्दा सरकारको राजस्व मात्र होइन, बैंकिङ क्षेत्रमा पनि ठूलो दबाब सिर्जना भएको देखिन्छ । कर्जा तिर्न नसक्नेहरू बढ्दै गएपछि बैंकहरूमा गैर बैंकिङ सम्पत्ति बढ्ने जोखिम समेत देखिएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। तर भदौ महिनामा यो घटेर ३ अर्ब १४ करोड रुपैयाँमा सीमित भयो । गत वर्षको सोही अवधिमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको तथ्यांकले यो वर्षको सुस्त व्यापार स्पष्ट देखाउँछ ।
भदौमा २७ हजार ४ सय ९४ वटा कारोबारका लिखतहरू मात्र दर्ता भएका छन् । यस्तै १३ हजार ६ सय ९१ वटा कित्ताकाट सम्बन्धी नयाँ लिखत पारित भएका छन्। यसले पनि रियल इस्टेट कारोबारमा आएको गिरावटलाई देखाउँछ ।
नेपाल घरजग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष भेषराज लोहनीका अनुसार भदौ महिना सामान्यतया बेमौसमी महिना हो, त्यसमा जेन–जी आन्दोलन र कित्ताकाट रोकिँदा बजार झनै ठप्प भयो ।
घरजग्गा कारोबार घट्दा त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा परेको छ । रियल इस्टेट बजार सुस्त हुँदा घर कर्जा, रियल इस्टेट लोन, र निर्माण व्यवसायसम्बन्धी कर्जाको भुक्तानीमा समस्या देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा २० वटा वाणिज्य बैंकको गैर–बैंकिङ सम्पत्ति ४२ अर्ब ८० करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
यो अघिल्लो वर्षको तुलनामा ३६.४९ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति ३१ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ रुपैयाँ थियो । वाणिज्य बैंकमा खराब कर्जा (एनपीएल) बढेसँगै त्यसको असर गैर–बैंकिङ सम्पत्तिमा परेको हो । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको खराब कर्जा ०.७६ प्रतिशत विन्दुले बढेको छ ।
गत वर्ष साउनमा औसत ३.८६ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको खराब कर्जा यो चालु आर्थिक वर्षको साउनमा ४.६२ प्रतिशत कायम भएको छ । एक वर्षमा वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति ३६.४९ प्रतिशतले बढेर ४२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।