आज हरिबोधनी अर्थात ठूलो एकादशी
काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी आज परेको छ । हरिबोधनी अर्थात ठूलो एकादशी पनि भनेर भनिने यो एकादशीमा आज तुलसी र दामोदरको विवाह गरी मनाउने गरिएको छ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।
आषाढ शुक्ल पक्षको एकादशी अर्थात हरिशयनी एकादशीका दिन घरघरमा रोपेको तुलसीको मठमा सजाइने गरिन्छ । गाईको गोबर र रातो माटोले लिपपोत गर्ने, सयपत्री फूलको मालाले सजाएने, बाँस, सिमली, निगालो वा उखुको लिंगो बनाउने र विवाह गराउने गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।
![]() |
![]() |
![]() |
|---|
हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा ब्रत बसी भगवान नारायणको पूजाअर्चना गर्ने गरिन्छ । यो एकादशीको दिन नेपालको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र, बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ ।
हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिंडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् ।



