एन्फामा भ्रष्टाचार हुन नदिने सरकारका प्रवक्ताको भनाइ
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र बन्न नदिने स्पष्ट गरेका छन्।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली फुटबल अहिले अत्यन्तै कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै विगतको राजनीतिक हस्तक्षेप र भ्रष्टाचारसम्बन्धी उजुरीका कारण अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले कारबाही गर्नुपरेको बताए।
मन्त्री पोखरेलले एन्फामा भएका अनियमितता र भ्रष्टाचारका उजुरीमाथि छानबिन गर्न सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षको नेतृत्वमा समिति गठन गरिसकेको जानकारी दिए। छानबिन प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि कानुनअनुसार कारबाही गरिने उनले बताए।
![]() |
![]() |
![]() |
|---|
साथै, फिफा र एएफसीसँग संवाद अघि बढाइएको र फुटबल क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी पनि दिए। उनले एन्फाका पदाधिकारीहरूलाई विश्वकप हेर्न जानुभन्दा अघि नेपाली फुटबलमा आशा जगाउने काम गर्न आग्रह गर्दै घरेलु फुटबलको विकासलाई प्राथमिकता दिनुपर्ने बताए।
अब एन्फाको नेतृत्वमा राजनीतिक कार्यकर्ता होइन, फुटबल बुझेका पूर्वखेलाडी र खेलप्रेमीहरूलाई अवसर दिने सरकारको नीति रहेको उल्लेख गर्दै नेपाली फुटबललाई स्वच्छ, पारदर्शी र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे।



