राष्ट्र बैंकले कुमारी र प्राइम कमर्सियल बैंकलाई गर्यो कारबाही
काठमाडौं– नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रिय बैंकले नियम र निर्देशनको उल्लंघन भएको ठहर गर्दै दुई वाणिज्य बैंकलाई कारबाही स्वरूप सचेत गराएको छ ।

राष्ट्र बैंकका अनुसार कुमारी बैंक र प्राइम कमर्सियल बैंक कारबाहीमा परेका छन् । कुमारी बैंकले एकीकृत निर्देशनमा समावेश प्रावधानको पालना नगरेको पाइएपछि सचेतना दिइएको केन्द्रिय बैंकले जनाएको छ ।
कालोसूचीमा परेका व्यक्ति, कम्पनी वा संस्थाहरूले त्यस्तो सूचीबाट फुकुवा नहुँदासम्म आफ्नो खातामा रकम जम्मा गर्न बाहेक अन्य कुनै बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ । तर, कुमारी बैंकले सो प्रावधानको पूर्ण अनुपालन नगरेको भेटिएपछि राष्ट्र बैंकले सचेत गराएका हो ।
यस्तै, प्राइम कमर्सियल बैंकले पनि कर्जा वर्गीकरण तथा जोखिम व्यवस्थापन सम्बन्धी निर्देशन पालना नगरेको कारण कारबाहीमा परेको छ ।
निरीक्षणका क्रममा बैंकले कर्जाहरूलाई समयावधि अनुसार वर्गीकरण नगरेको, कर्जा नोक्सानी व्यवस्थापन सही ढंगले नगरेको र जोखिम भारको गणना क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ अनुसार नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । उक्त अनियमितता पाइएको भन्दै राष्ट्र बैंकले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ ।
