११ महिनामा ४७ अर्ब ६१ करोडको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा बढी कृषिमा
काठमाडौं– चालु आर्थिक वर्ष २०८२÷८३ को ११ महिनाको अवधिमा नेपालले करिब ४७ अर्ब ६२ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता भित्र्याएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा विदेशी लगानीकर्ताहरूले ९१४ वटा उद्योगमा उक्त रकम लगानी गर्ने बाचा गरेका हुन् ।
चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा आएको कुल लगानी प्रतिबद्धतामध्ये सबैभन्दा ठूलो हिस्सा कृषि तथा वन पैदावारमा आधारित उद्योगहरूमा देखिएको छ । विभागको तथ्यांक अनुसार कृषि र वन पैदावार क्षेत्रमा मात्र २२ अर्ब ८ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । यो कुल लगानी प्रतिबद्धताको सबैभन्दा ठूलो हिस्सा हो ।
![]() |
![]() |
![]() |
|---|
त्यसैगरी, दोस्रो धेरै लगानी पर्यटन क्षेत्रमा भित्रिएको छ । यस अवधिमा पर्यटन क्षेत्रमा करिब १२ अर्ब ९९ करोड ७४ लाख रुपैयाँको प्रतिबद्धता आएको छ । लगानी प्रतिबद्धताको सङ्ख्याका आधारमा भने सूचना प्रविधि (क्ष्ऋत्) क्षेत्र सबैभन्दा अगाडि देखिएको छ । यस क्षेत्रमा मात्र ५७७ वटा परियोजनाका लागि २ अर्ब ३६ करोड ५८ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइएको छ ।
यस अवधिमा प्राप्त भएको कुल लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै साना उद्योगहरूका लागि आएको छ । तथ्यांकले ८९४ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको देखाउँदा मझौला र ठूला उद्योगमा क्रमशः ११ र ९ वटा मात्र प्रतिबद्धता देखिएका छन् । यसले नेपालमा विदेशी लगानीकर्ताहरूको चासो साना उद्योगतर्फ बढी केन्द्रित रहेको पुष्टि हुन्छ ।
विभागका अनुसार जेठ महिनामा मात्र २ अर्ब २९ करोड ५३ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । जेठ महिनामा मात्रै १८६ वटा नयाँ परियोजना दर्ता भएका छन् भने त्यसबाट १ हजार २२१ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । तथ्यांकले चालु आवको ११ महिनामा विदेशी लगानीबाट २५ हजार ४५० जनालाई रोजगारी दिने प्रतिबद्धता प्राप्त भएको देखाएको छ ।
Image Source: © https://mulpatra.com
लगानी स्वीकृतिको यो तथ्यांकले अघिल्लो वर्षको तुलनामा विदेशी लगानीको प्रवृत्तिमा केही परिवर्तन आएको सङ्केत गर्छ । सरकारले विदेशी लगानी आकर्षण गर्नका लागि स्वचालिन मार्ग र विभिन्न सम्झौता प्रक्रियाहरूलाई सहज बनाएकाले पनि लगानी प्रतिबद्धतामा सुधार आएको विभागका अधिकारीहरू बताउँछन् ।
चालु आवको ११ महिनाको अवधिमा विदेशी लगानीको प्रतिबद्धता उत्साहजनक नै देखिए पनि कति रकम वास्तवमै नेपाल भित्रिन्छ र कार्यान्वयनमा आउँछ भन्ने कुरा भने आगामी दिनमा देखिनेछ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



