Close

Recent Posts

आज बालाचतुर्दशी, किन मनाइन्छ बालाचतुर्दशी ?

आज बालाचतुर्दशी, किन मनाइन्छ बालाचतुर्दशी ?
  • ३ मंसिर २०८२, मंगलवार १०:५७

काठमाडौं । बालाचतुर्दशी हिन्दु धर्मावलम्वीहरुको चाडहरु मध्येको एक चाड हो । यो मंसिर महिनाको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशीको दिन मनाइन्छ । मन्दिरहरुमा गई सतबीज (सतबीउ) छरेर पितृहरुको सम्झना गर्दै यो चाड मनाइन्छ ।

mulpatra

प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।

त्रयोदशीको साँझमा विभिन्न शिवालयमा गई दीप प्रज्वलन गरीन्छ र रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन विहानै शतबीज छर्ने काम गरिन्छ ।

mulpatra mulpatra mulpatra

शिवालयमा छरिने शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई लिइने गरेको पाइन्छ । त्यसमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फल र फूलहरू पनि समावेश गरि छर्ने गरिन्छ ।
यो दिन देशभरिका शिवालय मन्दिरहरुमा शतविज छर्नेको घुँइचो हुन्छ । अझ धार्मिक मान्यता अनुसार काठमाडौंमा रहेको पशुपतिनाथको मन्दिरमा सतबीज छर्दा पुण्य प्राप्त हुने धार्मिक मान्यता छ । पशुपतिका विभिन्न क्षेत्रहरु १०८ शिवलिङ्ग कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदिमा सतबीज छर्दा परिवारका दिवंगत आत्मालाई शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।

पौराणिक मान्यता अनुसार भगवान् शिव मृगरूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ।

बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि छ।
त्यसैगरि बालासुरको हत्या गरि पछुताएका बुषसिंहले शिवजीको प्रार्थना गर्दा शिवजीले शिवजीले दर्शन दिई सतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि सतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि सतबीज छर्ने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ।

Image Source: © https://mulpatra.com

बालाचतुर्दशीमा आफ्ना मातापिता नभएकाले मात्र सदबीज छर्ने चलन रहेको छ । आफ्ना स्वर्गवास भएका मातापिताको आत्माले शान्ति पाओस भन्ने कामना गरि साँझमा बत्ती बाल्ने, रातभरि जाग्राम बस्ने र भोलिपल्ट शतबीउ छर्नाले विभिन्न पापहरू नष्ट हुने र पितृको आत्माले शान्ति पाउने जनविश्वास रहेको छ।

बेलुकी बालिएको बत्तीलाई रातभरी बल्न दिँदा पितृलोक झलमल्ल हुने विश्वास गरिन्छ । यसरी बालिएको बत्तीलाई विहान नदीमा सेलाएपछि सतबिज छरिन्छ र पुजागरि समापन गरिन्छ ।