आउनुहोस साथी, छलफल गरौँ !!!

आउनुहोस साथी, छलफल गरौँ !!!
  • ३ मंसिर २०८२, मंगलवार १४:३८

नेताका सत्तास्वार्थले कब्जा गरेको हाम्रो वामपन्थी आन्दोलन सङ्कटग्रस्त छँदैछ । भदौ २३ गतेको जेन् जी आन्दोलन र २४ गतेको विध्वंशमार्फत समाजले दिएको धेरै शक्तिशाली सन्देश नसुनेझैँ गरेर सबै नेताहरुले बालुवामा टाउको घुसारेका छन् । यो महिना र आगामी निर्वाचनसम्म अझ ठूला दुर्घटना हुनेछन् । कमरेड ओलीले नेकपा एमालेको जहाजलाई भयानक दुर्घटनातिर लैजाँदै छन् ।आत्मप्रसंशा, असहिष्णुता, उद्दण्डता, पपुलिज्म, मूल्यहीनताबाट यिनले जति अर्को कुनै व्यक्तिले नेपालको राजनीतिक संस्कृतिलाई प्रदषित गरेको थिएन । कमरेड ओलीले आफ्नो जीवनमा अब गर्न बाँकी रहेको एउटा मुख्य काम नेकपा एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो । सम्भवतः आगामी महाधिवेशनमा त्यो कर्म सम्पन्न गर्नेछन् । कमरेड ओलीलाई त्यसमा ग्लानी हुने छैन बरु आफ्नो ‘सामथ्र्य’मा अभिमान नै हुनेछ । त्यसबाट हुने क्षति मुलुकले पनि ब्यहोर्नै पर्नेछ । कमरेड ओलीको दिशा र दशा दुनियाँले थाहा पाइसकेको हुँदा भन्नु पर्ने कुरा कम छन्, बरु देख्नु पर्ने घटना केही बाँकी छन् ।

mulpatra

विचार र मुद्दा सकिएका र अस्तित्व रक्षाले लखेटिएका ‘ठूला नेता’ जम्मा गरेर कमरेड प्रचण्डले ‘नेपाली कम्युनिष्ट पार्टी’ का नाममा कचिङ्गलको कचहरी बनाएका छन् । ती कसैसँग पनि विचारको श्रृङ्खला छैन । हरेकका मुद्दा, उद्देश्य र प्राथमिकता फरक छन् । समाजवाद कसरी आउँछ ? वाम आन्दोलनको कार्यभार के हो ? क्रान्तिकारी पार्टी कसरी बन्छ ? कुन सन्धी/सम्झौता नेपालको हित/अहितमा छन् ? जस्ता विषय अगाडि राख्ने हो भने ती सबैको सबैसँग सार्वजनिक झगडा त्यसै क्षण सुरु भैहाल्छ । वस्तुतः विचार र मुद्दामा चुपचाप बस्नु नै त्यस पार्टीको शक्ति हो । कमरेड प्रचण्डले त्यो बुझेका छन् । त्यसैले त्यस्ता विषयमा कुनै पनि बैठकमा छलफल हुन दिने छैनन् । ‘विचार र मुद्दा चुनावपछि’भनेर स्थगित गरिने छ । ती सबैका पद, हैसियत, मुद्दा र स्वार्थलाई ‘ठिक छ, ठिक छ’ भनेर कमरेड प्रचण्डले थामथुम पारिरहने छन् ।

‘छ महिनामा महाधिवेशन गर्छौँ, त्यसपछि कार्यकारी पदमा रहन्नौँ’ भन्ने वाक्य यिनीहरुको प्रचारको सबैभन्दा मुख्य मुद्दा हो, विचार हो, सिद्धान्त हो, माक्र्सवाद–लेनिनवाद हो । तर सत्ता बाहिर बाँच्नै नसक्ने प्राणीका रुपमा यिनीहरु इतिहासमा अमर भैसकेका छन् । कमरेड ओलीले झैँ, यिनीहरुले पनि गर्न बाँकी रहेको काम अझ एक पटक मतदातालाई झुक्याउनु हो । अर्कोतर्फ, यिनीहरुले छोडिहाले भने कसले बाजी मार्ने हो भनेर कम्तिमा एक दर्जन ‘उत्तराधिकारीहरु’ तँछाड–मछाडमा लागि सकेका छन् । राजनीतिले निर्देशित नगरेपछि हुने त्यस्तै हो ।

करिब २५०० जना केन्द्रीय नेताहरु भएको नेपाली कम्युनिष्ट पार्टीका बैठक र सन्देश सभामा उद्घोषकले वक्ताहरुको क्रान्तिकारीता, वीरता, दृढताको आरती उतार्ने छन्, लाईन लागेर तिनीहरुले के पी ओलीका बदमासीका घटनाको कैरन सुनाउने छन्, दर्जनबढि पार्टीको नाम सुनाएर एकताको महानता बताइने छ, एकले अर्कोको महानताको वा आफैले आफ्नो योगदानको प्रवचन सुनाउने छन् । भविष्यको बाटो देखाइने छैन, इतिहासको बखान गरिने छ, आन्दोलनको कुरा हुने छैन, व्यक्तिको प्रसस्ती गाइने छ । तर समाजको त कुरै छोडौँ कार्यकर्तामा पनि विश्वास भर्न नसकेको तिनको लघुताभाष उदाङ्गो हुँदै जानेछ । यसरी एउटा वामपन्थी राजनीतिक पार्टीका रुपमा त्यसले गति लिने छैन । चलाखीमा प्रविण कमरेड प्रचण्डले यस्तो बेला अर्को क्रमभङ्ग खोज्न सक्छन् ।स्वार्थको रोटीभाग मिलाउन सके भने कमरेड प्रचण्ड र ओली मिलेर फेरि ‘महान् एकता’ को दुखान्त प्रहसन गर्न सक्छन् ।

क्रान्तिकारीहरुका लागि यो असाधारण चिन्ता र चुनौतिको परिस्थिति हो । वर्तमानभन्दा भविष्य डरलाग्दो देखिएको समय हो । तर तथाकथित महान् नेताहरुका सबै प्रयोगहरु असफल भएर तिनका नालायकीका सबै पर्दाहरु च्यातिएको बेला पनि हो यो।क्रान्तिकारीहरुका लागि मैदान खाली भएको बेला पनि हो । चौतर्फी निराशा, उकुसमुकुस र पलायनको यो बेला मुलुकका रुपान्तरणकारी मुद्दाका साथ लोकतान्त्रिक पार्टी निर्माणको नयाँ पहलकदमीले देशभरीका क्रान्तिकारीहरुलाई एउटा नयाँ बाटो दिन्छ । मुलुकको समृद्धि र समाजवादी कार्यक्रमको आधारमा बृहत् वाम एकताको ढोका खुल्छ । नालायकी लुकाउने ठाउँ नपाएका, राष्ट्रिय हितका विषयमा कैयन् पटक आत्मसमर्पण गरेका, चाकरीबाट प्राप्त वरिष्ठताका फुलीको भारीले थिचिएका, निर्वाचनमा आफ्नो कोटा सुरक्षित देखेका, राजनीतिबाट सातपुस्ताका लागि मनग्गे कमाइसकेकाहरुले यस्तो पहलकदमीलाई केही समय मजाक उडाउने छन् । तर वैज्ञानिक विचार र एजेण्डासहित मैदानमा उत्रेपछि सानो समूहले पनि राजनीतिको भाष्य बदल्न सक्छन् भन्ने कुरा हामीले प्रमाणित गरिसकेका छौँ । विचारका मूलभूत प्रश्नमा हाम्रा अगाडि कुनै चुनौति छैन । सङ्गठनका प्रश्नमा अझै केही समस्या छन् । पार्टी सङ्गठन भनेको कारोबारीहरुको गठबन्धन हो भन्ने प्रचार स्थापित भएको राजनीतिमा हामीले क्रान्तिकारी पार्टी राजनीतिक नै हुन्छ भन्ने स्थापित गर्नु पर्ने छ । आज जिवित रहेको हाम्रो पुस्ताले यत्ति काम गर्न सक्यो भने हाम्रो आन्दोलनकै इतिहासमा ठूलो योगदान हुने छ । आउनुस् साथी, छलफल गरौँ !!!

-मंसिर २, २०८२