गभर्नर हटाउन जेनजीको माग, अर्थमन्त्रीलाई बुझाईयो ज्ञापनपत्र
काठमाण्डौ । जेनजी युवाहरुको समुह जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर लाई हटाउन माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । गभर्नर डा. विश्वनाथ पौडेललाई पदमुक्त गर्नुपर्ने मागसहित आज अर्थमन्त्री रामेश्वर खनाललाई जेनजी युनाइटेडले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा कानुन विपरित गर्भनर पौडेललाई नियुक्ति गरेका कारण उनलाई बर्खास्त गर्दै ऐन अनुसार नयाँ गभर्नर नियुक्ति गर्न माग गरिएको छ । राष्ट्र बैंक ऐनको प्रावधान बेवास्ता गर्दै स्वार्थ समूहको योजनाअनुसार पौडेललाई तत्कालिन सरकारले नियुक्त गरेको आरोप लगाइएको छ। सरकारले गठन गरेको सिफारिस समितिले नै अधिकारको दुरुपयोग गर्दै कानुन विपरीत पौडेललाई सिफारिस गरेको दाबी गर्दै समेत गरिएको छ ।
पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक र कृषिमा स्नात्तकोत्तर गरेको उल्लेख गर्दै राष्ट्र बैंकको तोकिएको मापदण्ड अनुसार सम्बन्धित विषय नरहेको समेत उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ ९प्रथम संशोधन २०६३० को दफा १५ अनुसार गभर्नर नियुक्तिका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरु वा डेपुटी गभर्नरहरुमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था रहेको जनाइएको छ। तर, उक्त व्यवस्था विपरीत डा. पौडेललाई सिफारिस गरिएको ज्ञापनपत्रमा उल्लेख छ।
![]() |
![]() |
![]() |
|---|
गभर्नर नियुक्ति विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतमा समेत उजुरी तथा रिट दायर भइसकेकाले पौडेल पदबाट बर्खास्त गर्न समेत जिकिर गरिएको छ ।
जेन–जी युनाइटेडले गभर्नरलाई बर्खास्त गर्नुपर्ने, अर्थ मन्त्रालयमा विचौलियाको प्रभाव नियन्त्रण गर्नुपर्ने लगायतका सात बुँदे मागप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ।



