प्रतिनिधि सभा निर्वाचन: समानुपातिक बन्दसूची बुझाउने समय आउन एक साता बाँकी

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक बन्दसूची बुझाउने समय आउन एक साता बाँकी
  • ६ पुष २०८२, आईतवार ११:०१

काठमाडौं– राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय आउन एक साता बाँकी छ । एक साता अगाडि बन्दसूचीमा रहने समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य हेरफेर भएको छ ।

mulpatra

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम गत मंसिर २१ गतेदेखि सुरु भएको थियो । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिने समय दिइएको थियो । तोकिएको समयमा एक सय दलले निवेदन दिएका छन् ।

समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दले यही पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेस गर्ने समय पाउनेछन् । बन्दसूची पेस गर्दा समानुपातिकमा समावेशी कोटा अनुसार बुझाउनुपर्ने हुन्छ ।

यसअघि २०७९ को चुनावमा २०६८ सालको जनगणनाअनुसार नै समानुपातिकमा समावेशी कोटा निर्धारण गरिएको थियो । यसपटक भने २०७८ सालको जनगणना अनुसार समानुपातिकमा समावेशी कोटा निर्धारण गरिएको छ । यसका लागि सरकारले अध्यादेशमार्फत निर्वाचन ऐन नै संशोधन गरेको छ ।

राष्ट्रपतिबाट गत शुक्रबार जारी भएको अध्यादेश अनुसार अब २०७८ सालको जनगणना अनुसार समानुपातिकमा समावेशी कोटा बमोजिम राजनीतिक दलहरूले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने हुन्छ ।

प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र ११० सदस्यको चयन एक समानुपातिक निर्वाचन प्रणलीद्वारा गरिन्छ । ११० सिटमा हुने निर्वाचनका लागि दलहरूले उम्मेदवारको बन्दसूची बुझाउँदा समानुपातिकमा समावेशी कोटाअनुसार बुझाउनुपर्ने हुन्छ ।

निर्वाचन आयोगका अनुसार संशोधित ऐनअनुसार ११० सिटमै उम्मेदवारी दिँदा खसआर्य ३३, आदिवासी जनजाति–३२, मधेशी–१८, दलित–१५, थारू ७ मुस्लिम समुदायबाट ५ जनाको नाम बन्दसूचीमा बुझाउनुपर्ने हुन्छ । समग्रमा ५० प्रतिशत महिला हुनुपर्छ ।

प्रारम्भिक सूची आगामी माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २) गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ । विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ ।

प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन गर्ने कार्यतालिका छ