चिसो मौसमः कसरी बच्न सकिन्छ चिसोबाट हुने समस्याबाट
काठमाडौँ । देशैभरि चिसो बढ्ने क्रम जारी छ । चिसो मौसम सुरु भएसँगै मुटु रोग, उच्च रक्तचाप, हार्ट अट्याक तथा श्वासप्रश्वास सम्बन्धी रोगका विरामीहरुका लागि जोखिम हुने चिकित्सकहरुले बताउने गरेका छन् । गंगालाल ह्दयकेन्द्रका चिकित्सकहरूका अनुसार अत्यधिक चिसोका कारण रक्तचाप र मुटुसम्बन्धी समस्या र स्वावप्रश्वास सम्बन्धी समस्या बढ्नसक्ने भन्दै सावधानि अपनाउन सुझाएका छन् ।

विशेषगरी वृद्धवृद्धा र पहिलेदेखि नै दीर्घरोगी रहेका व्यक्तिहरूलाई अझ बढी सतर्कता अपनाउनु पर्नेछ । न्यानो कपडा लगाउने, अनावश्यक रूपमा बाहिर ननिस्कने, औषधि नियमित सेवन गर्ने र बाहिर हिड्दा माक्र्स अनिवार्य लगाएर निस्कनाले धेरै रोकथाम गर्न सकिन्छ ।
चिसोमा किन बढ्छ स्वास्थ्य जोखिम ?
![]() |
![]() |
![]() |
|---|
चिसो मौसममा शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले भाइरस र ब्याक्टेरिया सक्रिय हुन्छन्। यस समयमा खोकी, रुघाखोकी, मौसमी फ्लु, दम, जोर्नी दुख्ने, मुटुसम्बन्धी समस्या र श्वासप्रश्वासका रोग बढी देखिने जनस्वास्थ्यविद्हरू बताउँछन्।
गंगालाल हस्पिटलका वरिष्ट डा. चन्द्रमणी अधिकारीका अनुसार चिसोमा पर्याप्त सावधानी नअपनाउँदा सामान्य समस्या पनि गम्भीर रोगमा रूपान्तरण हुन सक्छ।
चिसोबाट बच्न अपनाउनुपर्ने उपाय
Image Source: © https://mulpatra.com
१. झोलिलो र तातो खानेकुरा सेवन
तातो पानी, बेसार पानी, दूध, कालो चिया, कागती चिया, सुप तथा झोलिलो खानेकुराले शरीर न्यानो राख्न सहयोग गर्छ। नियमित तातो पानी पिउनु र बाफ लिनु पनि उपयोगी हुन्छ।
२. न्यानो कपडाको प्रयोग
सबै उमेर समूहका व्यक्तिले न्यानो कपडा, टोपी, मोजा र पञ्जाको प्रयोग गर्नुपर्छ। पातलो कपडाले चिसो सहने बानी दीर्घकालीन रूपमा स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
३. बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह
बालबालिका र वृद्धवृद्धालाई चिसोले निमोनिया, दम र अन्य संक्रमण छिटो लाग्ने भएकाले तेल मसाज, न्यानो कपडा र सरसफाइमा ध्यान दिनुपर्छ। पसिना आएमा कपडा तुरुन्त फेर्नुपर्छ।
४. तेल मसाज र छालाको हेरचाह
मनतातो तोरीको तेलले मसाज गर्दा जोर्नी दुखाइ र झमझमाहट कम हुन्छ। चिसोमा छाला सुख्खा हुने भएकाले मोइस्चराइजर, नरिवल वा बदामको तेल प्रयोग गर्नुपर्छ।
५. मर्निङ वाक र भारी व्यायाममा सावधानी
चिसो मौसममा, विशेषगरी काठमाडौँजस्तो प्रदूषित ठाउँमा, बिहानको मर्निङ वाक स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। बिहानै चिसोमा दौडिँदा रक्तचाप अनियन्त्रित भई मुटु र मस्तिष्कघातको जोखिम बढ्न सक्छ।
६. आगो र हिटरको सन्तुलित प्रयोग
अत्यधिक हिटर प्रयोग स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। सकेसम्म न्यानो कपडामै जोड दिनु र आगो वा हिटर सन्तुलित रूपमा प्रयोग गर्न चिकित्सकहरू सुझाउँछन्।
समस्या देखिए तुरुन्त उपचार आवश्यक
चिसोबाट बच्ने घरेलु उपाय अपनाउँदा पनि ज्वरो, टाउको दुखाइ, सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा अत्यधिक कमजोरी महसुस भएमा ढिला नगरी स्वास्थ्य संस्थामा जान चिकित्सकहरूको सुझाव छ।
चिसो मौसम स्वास्थ्यका लागि संवेदनशील समय हो। सही खानपान, न्यानो कपडा, उचित जीवनशैली र समयमै उपचारले चिसोबाट हुने धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। चिकित्सकहरूको सुझाव पालना गर्दै सचेत बनेमा मात्र चिसो मौसम सुरक्षित रूपमा पार गर्न सकिन्छ।



