६ महिनामा ७ अर्बको अलैंची निर्यात
काठमाडौं– नेपालमा उत्पादन हुने धागो, ऊनी गलैंचा, तयारी पोशाक, चिया, जस्तापाता लगायतका वस्तुको निकासी घटिरहेका बेला अलैंची निर्यात भने उत्साहजनक रुपमा बढिरहेको छ ।

सोयाबिन र पाम आयलजस्ता आयातित कच्चा पदार्थमा आधारित वस्तुको निर्यात व्यापारमा दबदबा रहेका बेला विदेशी बजारमा अलैंचीको मागसँगै निर्यात बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सात अर्ब रुपैयाँभन्दा बढीको अलैंची निर्यात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पुस मसान्तसम्म नेपालबाट ७ अर्ब १९ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५७.६६ प्रतिशतले बढी हो । गत आवको पुससम्म नेपालबाट चार अर्ब ५६ करोड रुपैयाँ बराबरको अलैंची निकासी भएको तथ्यांक छ ।
![]() |
![]() |
![]() |
|---|
अन्तर्राष्ट्रिय बजारमा अलैंचीको मागसँगै मूल्य बढेको छ । यस वर्ष अलैंचीको मूल्य प्रतिमन १ लाख रुपैयाँभन्दा बढी रहेको छ । एक मनमा ४० किलो हुन्छ । यसअनुसार नेपालबाट प्रतिकिलो न्यूनतम २५ सय रुपैयाँ हाराहारीमा अलैंची निर्यात भइरहेको छ ।
पुससम्म नेपालबाट ३४ लाख ६१ हजार ३५० किलो अलैंची निकासी भएको छ । गत आवको यही अवधिमा भने २६ लाख ७४ हजार ३६५ किलो अलैंची निर्यात भएको केन्द्रको तथ्यांक छ ।
गत आव २०८१–८२ मा नेपालले ४३ लाख १ हजार ४२ किलो अलैंची निर्यात गरेर सात अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसरी चालु आवको ६ महिनामै नेपालले अलैंची बिक्रीबाट गत आवको हाराहारीमा आम्दानी गरिसकेको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



