मध्यपूर्वमा शान्तिका लागि पाकिस्तान र चीनले दिए ५ सुझाव
काठमाडौं– चीनका विदेश मन्त्री वाङ यी र पाकिस्तानका विदेश मन्त्री इशाक दारबीच मंगलबार बेइजिङमा भेटवार्ता भएको छ ।

भेटका क्रममा उनीहरूले मध्यपूर्वको अवस्थाबारे समीक्षा गर्दै शान्ति स्थापना गर्न पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् ।
१. तत्काल युद्धविराम
![]() |
![]() |
![]() |
|---|
चीन र पाकिस्तानले तत्काल लडाइँ रोक्न र द्वन्द्व थप फैलिन नदिन आग्रह गरेका छन् । साथै, युद्ध प्रभावित क्षेत्रमा मानवीय सहायता सहज रूपमा पुग्न दिनुपर्ने बताएका छन् ।
२. छिटो शान्ति वार्ता सुरु गर्नुपर्ने
दुवै देशले यथाशीघ्र शान्ति वार्ता सुरु गर्नुपर्नेमा जोड दिएका छन् । इरान तथा खाडी क्षेत्रका देशहरूको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सुरक्षाको सम्मान हुनुपर्ने उल्लेख गरिएको छ । विवाद समाधानका लागि संवाद र कूटनीति नै प्रभावकारी माध्यम भएको बताइएको छ ।
Image Source: © https://mulpatra.com
३. सर्वसाधारण र गैर–सैन्य संरचनाको सुरक्षा
सैन्य द्वन्द्वमा नागरिकको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । नागरिक तथा गैर–सैन्य संरचनामाथि आक्रमण रोक्न र अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न आग्रह गरिएको छ। ऊर्जा, खानेपानी प्रशोधन केन्द्र, विद्युत गृह र शान्तिपूर्ण परमाणु संरचनामा आक्रमण नगर्न भनिएको छ ।
४. समुद्री मार्गको सुरक्षा
हर्मुज जलघाँटी र आसपास क्षेत्र विश्वव्यापी ऊर्जा तथा वस्तु आपूर्तिका लागि महत्वपूर्ण समुद्री मार्ग भएकाले त्यहाँको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताइएको छ । त्यहाँ अड्किएका जहाज र चालक दलको सुरक्षाका साथै नागरिक र व्यावसायिक जहाजलाई सुरक्षित रूपमा आवागमन गर्न दिनुपर्नेमा जोड दिइएको छ ।
५. संयुक्त राष्ट्रसंघको भूमिका बलियो बनाउनुपर्ने
चीन र पाकिस्तानले बहुपक्षीय सहयोगलाई प्रवद्र्धन गर्दै संयुक्त राष्ट्रसंघको भूमिकालाई सुदृढ बनाउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय कानूनका आधारमा स्थायी शान्तिका लागि व्यापक सहमति आवश्यक रहेको उनीहरूको धारणा छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



