युएईले छाड्यो ओपेक, विश्व तेल बजारमा समस्या
काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले प्रमुख तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक र ओपेक प्लसबाट बाहिरिने घोषणा गरेको छ ।

करिब ६० वर्षपछि यूएईले यो ऐतिहासिक निर्णय यस्तो समयमा लिएको छ, जब इरानसँगको युद्धका कारण विश्वभर ऊर्जा संकट चुलिएको छ र विश्व अर्थतन्त्र नराम्ररी हल्लिएको छ ।
यूएई सन् १९६७ मा यस समूहमा आबद्ध भएको थियो। अब यूएई बाहिरिएपछि ओपेकमा ११ सदस्य मात्र बाँकी रहनेछन् ओपेक प्लस गठबन्धनमा भने रसियासहित अन्य १० गैर–ओपेक सदस्यहरू पनि सहभागी छन् ।
![]() |
![]() |
![]() |
|---|
यूएईले यो कदम आफ्नो दीर्घकालीन रणनीति, आर्थिक दृष्टिकोण र परिवर्तन हुँदै गरेको ऊर्जा प्रोफाइलको परिणाम भएको बताएको छ ।
यूएईका ऊर्जा मन्त्री सुहैल अल मजरुईले यी समूहहरूको बाध्यताबाट मुक्त हुँदा देशले आफ्नो नीतिमा थप लचकता पाउने उल्लेख गरे । सन् १९६० मा इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुएला मिलेर ओपेकको स्थापना गरेका थिए । यसको मुख्य उद्देश्य तेल उत्पादनमा समन्वय गरी निर्यातकर्ता देशहरूको हित रक्षा गर्नु र सदस्यहरूको आय सुनिश्चित गर्नु थियो ।
समयक्रममा सदस्य राष्ट्रहरूको संख्या घटबढ भए पनि संस्थापक सदस्यबाहेक यसमा अल्जेरिया, इक्वेटोरियल गिनी, गेबोन, लिबिया, नाइजेरिया र कंगो गणतन्त्र सामेल छन् ।
Image Source: © https://mulpatra.com
यूएईको यो बहिर्गमनलाई तेल उत्पादक समूहका लागि ठूलो धक्का मानिएको छ। केही विश्लेषकहरूले त यसलाई ओपेकको अन्त्यको सुरुवातसमेत भनेका छन् । एमएसटी फाइनान्सियलका ऊर्जा अनुसन्धान प्रमुख शाऊल काभोनिकका अनुसार यूएईको बिदाइले ओपेकले आफ्नो उत्पादन क्षमताको करिब १५ प्रतिशत हिस्सा गुमाउनेछ ।
यो निर्णय ओपेक र यस समूहको नेतृत्व गरिरहेको साउदी अरबका लागि गम्भीर चुनौती हो। लामो समयदेखि सदस्य रहेको यूएई जस्तो देश बाहिरिँदा समूहभित्र अन्योल बढ्न सक्ने र यसले संगठनलाई कमजोर बनाउने देखिन्छ। भू–राजनीतिदेखि उत्पादन कोटासम्मका विषयमा आन्तरिक मतभेदका बाबजुद यो समूहले अहिलेसम्म एकता प्रदर्शन गर्दै आएको थियो ।
ब्ल्याक गोल्ड इन्भेस्टर्सका प्रमुख कार्यकारी अधिकृत ग्यारी रसले यूएईले पछिल्ला केही वर्षदेखि उत्पादन कोटालाई बेवास्ता गर्दै अधिकतम उत्पादनको नीति लिएको बताए। उनका अनुसार वास्तवमा साउदी अरब नै ओपेकको मुख्य शक्ति थियो किनभने उनीसँग मात्र अतिरिक्त उत्पादन क्षमता थियो।
पछिल्लो तथ्यांक अनुसार यूएईले वार्षिक २९ लाख ब्यारेल तेल उत्पादन गर्छ भने साउदी अरबले ९० लाख ब्यारेल उत्पादन गर्दै आएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार ओपेक प्लसको विश्वव्यापी तेल उत्पादनमा रहेको हिस्सा फेब्रुअरीमा ४८ प्रतिशत रहेकोमा मार्चमा घटेर ४४ प्रतिशतमा झरेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



