सञ्चय, नागरिक र सामाजिक सुरक्षा कोषलाई निजी फण्डमा लगानीको बाटो खुल्यो
काठमाडौं– सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको लगानी गर्ने दायरालाई विस्तार गर्दै नयाँ क्षेत्रहरू खुला गरिदिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा जारी गरेको ‘केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश’ मार्फत नागरिक लगानी कोष ऐन, कर्मचारी सञ्चय कोष ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा आवश्यक परिमार्जन गरिएको छ ।
यसअघि यी कोषहरूले मुख्यतया बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, सरकारी ऋणपत्र र सूचीकृत शेयरहरूमा मात्रै लगानी गर्दै आएका थिए ।
![]() |
![]() |
![]() |
|---|
अध्यादेशमार्फत सम्बन्धित ऐनहरूमा संशोधन गर्दै सरकारले यी ठूला कोषहरूलाई अब म्युचुअल फण्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डहरूमा पनि लगानी गर्न सक्ने बाटो खोलेको हो ।
नयाँ व्यवस्था अनुसार नागरिक लगानी कोषले अब वाणिज्य बैंक र बीमा कम्पनीको शेयरमा मात्र सीमित नभई धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड वा भेन्चर क्यापिटल फण्डका इकाइहरूमा पनि लगानी गर्न पाउनेछ ।
त्यसैगरी, कर्मचारी सञ्चय कोषले यसअघि आफ्नै सामूहिक लगानी योजना मात्र सञ्चालन गर्न पाउने व्यवस्था रहेकोमा अब बाह्य म्युचुअल फण्ड र भेन्चर क्यापिटलमा समेत सहभागी हुन सक्नेछ ।
Image Source: © https://mulpatra.com
यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कोषको लगानी नीतिमा पनि सुधार गरिएको छ। अब यो कोषले पनि म्युचुअल फण्डका अतिरिक्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटलका औजारहरूमा लगानी गरेर आफ्नो प्रतिफल बढाउने अवसर प्राप्त गरेको छ ।
सरकारी स्वामित्वका यी तीन ठूला निकायहरूसँग अर्बौँ रुपैयाँको पूँजी संकलन छ। लगानीका क्षेत्रहरू खुम्चिँदा उनीहरूको रकम बैंकमा मात्र थुप्रिने गरेको थियो ।
अब प्राइभेट इक्विटी र भेन्चर क्यापिटल जस्ता नयाँ र गतिशील क्षेत्रमा लगानी खुलेसँगै नेपालको पूँजी बजारमा तरलता बढ्ने र नयाँ स्टार्टअप तथा उद्यमहरूले पनि संस्थागत लगानी पाउने अपेक्षा गरिएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



