कांग्रेसले जलवायुदेखि युवा मुद्दादेखि नीति प्रतिष्ठानसम्म हेर्ने सात उपसमितिका संयोजक तोक्यो
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको आन्तरिक रणनीति र सार्वजनिक सरोकारका विभिन्न क्षेत्रहरू हेर्ने गरी सात वटा महत्त्वपूर्ण विषयगत उपसमितिहरूको गठन गर्दै तिनको संयोजक तोकेको छ ।

प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले उक्त उपसमितिहरू तय गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
नयाँ जिम्मेवारी बाँडफाँडअनुसार निजी क्षेत्र, सेयर बजार, बिमा, सहकारीसहित समग्र वित्तीय क्षेत्र समेटिएको ‘अर्थ योजना उपसमिति’ को संयोजकमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल चयन भएका छन्।
![]() |
![]() |
![]() |
|---|
प्रतिष्ठानले समसामयिक र भविष्यको पुस्तासँग जोडिएका एजेन्डाहरूलाई सम्बोधन गर्न विभिन्न क्षेत्रका विज्ञ तथा युवा नेताहरूलाई अघि सारेको छ। जसअन्तर्गत हिमाली क्षेत्रमा परेको असर न्यूनीकरण र समग्र वातावरण संरक्षण अभियानका लागि क्रियाशील रहने ‘जलवायु परिवर्तन सचेतना उपसमिति’ को संयोजकको जिम्मेवारी रोशनी गिरीलाई सुम्पिएको छ।
त्यसैगरी नयाँ पुस्ताका ‘जेन–जेड’, ‘जेन–वाई’ , ‘अल्फा’ र नागरिक समाजको प्रबुद्ध तहसँग संवाद र समन्वय कायम गर्ने उद्देश्यका साथ स्थापित ‘नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति’ को संयोजकमा चलचित्र निर्देशक मीनबहादुर भाम चयन भएका छन्।
श्रम बजारमा रहेका श्रमिकहरूको हकहितका लागि काम गर्न ‘अनौपचारिक क्षेत्रका श्रमिकः नीति र न्याय सम्बन्धी उपसमिति’ को नेतृत्व महेन्द्र यादवलाई दिइएको छ।
Image Source: © https://mulpatra.com
यसैगरी बालबालिकाको हित र बालश्रम विरुद्धको अभियानलाई प्रभावकारी बनाउन गठित ‘बाल अधिकार उपसमिति’ को संयोजकमा उमंग लोहनी चयन भएका छ।
सरकारी तथा सार्वजनिक निकायहरूबाट हुने सेवा प्रवाहमा सुधार र ‘थिती’ बसाल्ने बहसका लागि गठन गरिएको ‘सार्वजनिक सेवा प्रवाहः नीति र थिती संवाद उपसमिति’ को संयोजकको जिम्मेवारी गोपालप्रसाद पोख्रेललाई तोकिएको छ।
यस्तै सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्थाहरूसँग समन्वय बढाउन ‘गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमिति’ को संयोजकमा अञ्जु झा चयन भएकी छन्। प्रतिष्ठानको यस निर्णयले कांग्रेसलाई नीतिगत रूपमा थप अध्ययनशील र प्रविधिमैत्री बनाउनुका साथै आगामी दिनमा युवा तथा विज्ञ समूहसँगको सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



