सुस्तामा तटबन्ध निर्माणमा भारतीयपक्षको अवरोध, यस्तो छ अवस्था
काठमाडौं– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले अवरोध गरेको छ ।

सीमा विवादित क्षेत्र रहेको भन्दै भारतीयपक्षले थप भौतिक संरचना निर्माण नगर्न मौखिक आग्रह गरेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार संयुक्त सीमा गस्तीका क्रममा भारतीयपक्षले उक्त विषय उठाएको थियो । त्यसपछि सम्बन्धित निकायमार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको छ ।
हाल सुस्ता गाउँपालिका– ५ मा करिब १ किलोमिटर तटबन्ध निर्माणको काम भइरहेको छ, जसको अधिकांश काम सम्पन्न भइसकेको छ । तर, त्यससँगै जोडिएको १३२ मिटर क्षेत्रमा भने माथिल्लो तहको सहमति प्राप्त गरेपछि मात्र निर्माण अघि बढाउन भारतीयपक्षले आग्रह गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
नारायणी नदीको बाढी र कटानका कारण स्थानीय बस्ती तथा खेतीयोग्य जमिन जोखिममा पर्दै आएकाले तटबन्ध निर्माणलाई स्थानीयवासीले अत्यन्त आवश्यक पूर्वाधारका रूपमा लिएका छन् । स्थानीयहरूले निर्माणस्थल नेपाली भूमि भित्रै रहेको दाबी गर्दै रोकावटप्रति असन्तुष्टि जनाएका छन् ।
तटबन्ध निर्माणका लागि छुट्टाछुट्टै ठेक्का सम्झौता भइसकेको र बजेटसमेत विनियोजन भइसकेको जनाइएको छ । स्थानीयवासीले निर्माण कार्य अविलम्ब सुचारु गर्न सरकारबाट आवश्यक पहल हुनुपर्ने माग गरेका छन् ।



