पीपीपी मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइँदै
काठमाडौं । सुदूरपश्चिम तथा पश्चिम नेपालका ठूला जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यसहित वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाइने भएको छ।

आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ। करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानी जुटाइनेछ। सरकारी पक्षको ५१ प्रतिशत तथा निजी क्षेत्रको उल्लेख्य सहभागितासहित कम्पनीको सेयर संरचना तय गरिएको छ भने १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।
बझाङको चैनपुर सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन डोटीको बनलेक हुँदै कैलालीको दोधोधरा सबस्टेसनसम्म पुग्नेछ। करिब १४५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनअन्तर्गत चैनपुर र बनलेकमा उच्च क्षमताका सबस्टेसन निर्माण गरिनेछ।
![]() |
![]() |
![]() |
|---|
प्रारम्भिक अध्ययन, इन्जिनियरिङ तथा वातावरणीय मूल्यांकन सम्पन्न भइसकेको जनाइएको छ भने अब जग्गा प्राप्ति, वन क्षेत्र स्वीकृति र ‘राइट अफ वे’ सम्बन्धी प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाइनेछ।
यो प्रसारण लाइनमार्फत पश्चिम सेती, सेती नदी–६, अपर सेती लगायत विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गरिनेछ। दीर्घकालमा करिब २ हजार ५०० मेगावाटसम्म विद्युत् निकासी क्षमता विकास गर्ने लक्ष्य राखिएको आयोजनालाई ऊर्जा सुरक्षा, सीमापार विद्युत् व्यापार विस्तार तथा सुदूरपश्चिमलाई प्रमुख ‘पावर हब’का रूपमा विकास गर्ने रणनीतिसँग जोडिएको परियोजनाका रूपमा हेरिएको छ। आवश्यक नियामकीय स्वीकृतिपछि निर्माण सुरु गरी पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ।



