पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिमाना हुने
काठमाडौं । अत्यावश्यक पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी पेट्रोल पम्प बन्द गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गरेको छ।

संशोधित व्यवस्थाअनुसार उचित कारणबिना नोजल सुक्खा (ड्राई) बनाएर पेट्रोल वा डिजेल उपलब्ध गराउन नपाउने अवस्था सिर्जना गर्ने पेट्रोल पम्पलाई पहिलो पटक ३ लाख रुपैयाँ जरिमाना र ५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक यस्तो कसुर दोहोरिए ६ लाख रुपैयाँ जरिमानासहित १० दिन र तेस्रो पटक १० लाख रुपैयाँ जरिमानासहित १५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति बन्द गरिने व्यवस्था गरिएको छ।
यो निर्णय पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै निगमका डिपोबाट इन्धन नउठाउँदा देशभर इन्धन आपूर्ति प्रभावित भएको घटनापछि गरिएको हो। उक्त घटनाले सर्वसाधारणलाई सास्ती भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले तत्काल कानुनी व्यवस्था गरी दोषी व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएकी थिइन्।
![]() |
![]() |
![]() |
|---|
त्यसलगत्तै नेपाल आयल निगमको सञ्चालक समितिले विनियमावली संशोधन गर्दै ‘बिक्रेताले नोजल सुक्खा ९ड्राई० गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने’ भन्ने व्यवस्था थपेको हो।
नेपाल आयल निगमका अनुसार नयाँ व्यवस्थाले पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव रोक्न तथा उपभोक्ताको हित संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। अब उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन बिक्री अवरुद्ध गर्ने व्यवसायीलाई आर्थिक जरिमानासँगै आपूर्ति रोक्का गर्ने कानुनी आधार स्पष्ट भएकाले भविष्यमा यस्ता गतिविधि नियन्त्रण हुने विश्वास गरिएको छ।



