छिमेकीसँगको सम्बन्धमा चीनका पूर्व राजदूतहरू, पूर्व प्रधानमन्त्री खनाल तथा उपप्रधानमन्त्री, परराष्ट्र तथा गृहमन्त्री समेतको आपत्ति
काठमाडौं । चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यता मानिएको एक चीन नीतिप्रतिको प्रतिबद्धतालाई कुनै पनि परिस्थितिमा कमजोर नपार्न सरकारलाई आग्रह गरेका छन्। उनीहरूले छिमेकी मुलुकसँगको सम्बन्धमा संवेदनशीलता अपनाउँदै नेपालको दीर्घकालीन राष्ट्रिय हित, कूटनीतिक सन्तुलन र परराष्ट्र नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले शुक्रबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइएको तथा उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको भन्ने सार्वजनिक समाचारप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
वक्तव्यमा नेपालले लामो समयदेखि दृढतापूर्वक एक चीन नीति अवलम्बन गर्दै आएको, नेपालको भूमिलाई कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने तथा त्यस्तो गतिविधि हुन नदिने प्रतिबद्धता निरन्तर दोहोर्याउँदै आएको स्मरण गराइएको छ। हालै परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा समेत यही नीति पुनः पुष्टि गरिएको उल्लेख गर्दै पूर्वराजदूतहरूले पछिल्लो घटनाले नेपालको परराष्ट्र नीतिमा कुनै परिवर्तन आएको हो भन्ने प्रश्न उठाएका छन्।
![]() |
![]() |
![]() |
|---|
उनीहरूले वक्तव्यमा भनेका छन्, ‘नेपालले सधैँ दृढतापूर्वक एक–चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पर्ने कार्य नगर्ने तथा गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको, र हालै चीन भ्रमणका क्रममा समेत यही प्रतिबद्धता दोहोर्याइएको अवस्थामा के नेपालको परराष्ट्र नीतिमा परिवर्तन आएको हो ?’
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले दीर्घकालदेखि अवलम्बन गर्दै आएको ‘एक चीन’ नीतिप्रति दृढ रहन र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिन सरकारलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले असार २२ गते काठमाडौंस्थित नाम्ग्याल विद्यालयमा दलाई लामाको जन्मदिन मनाउन अनुमति दिइएको घटनाप्रति आपत्ति जनाएका हुन्। उक्त कार्यक्रममा केही विदेशी कूटनीतिज्ञहरूको सहभागिताले नेपाल–चीन सम्बन्ध र नेपालको स्थापित परराष्ट्र नीतिमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ। नेपाल कुनै पनि शक्ति राष्ट्रको प्रतिस्पर्धाको मैदान बन्न नहुने, चीन र भारत दुवै छिमेकीसँग सुमधुर तथा रचनात्मक सम्बन्ध कायम राख्नु नै नेपालको राष्ट्रिय हित हुने उनले उल्लेख गरेका छन्।
त्यसैगरी, पूर्वउपप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि दलाई लामाको जन्मोत्सव सरकारको औपचारिक अनुमतिमा मनाइएको घटनालाई सामान्य रूपमा लिन नसकिने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले यसले नेपालको स्थापित परराष्ट्र नीतिमा गम्भीर विचलन आउन सक्ने आशंकालाई बल पुगेको बताएका हुन्। दलाई लामाको जन्मोत्सवमा केही पश्चिमा मुलुकका काठमाडौँस्थित कूटनीतिज्ञहरूको सहभागिता सार्वजनिक भएको उल्लेख गर्दै उनले नेपालले आफ्नो भूमिलाई कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने पुरानो प्रतिबद्धता दृढतापूर्वक पालना गर्नुपर्ने र राष्ट्रिय हितअनुकूल सन्तुलित परराष्ट्र नीति कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



