बोटमै लुटिन्छन् किसान, पसिना ३ प्रतिशत मात्र महँगो
काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयको हालै सार्वजनिक कृषि उत्पादक मूल्य सूचकांक (तेस्रो त्रैमासिक, २०८२÷८३) को भित्री तथ्यांक केलाउँदा एउटा तितो र डरलाग्दो यथार्थ बाहिर आएको छ ।

नेपाली किसानले उत्पादन गर्ने मुख्य बाली र खाद्यान्नको मूल्य वृद्धिदर अत्यन्तै सुस्त छ, जबकी बजारमा उपभोक्ताले तिर्ने मूल्य भने आकासिएको छ ।
विगत एक वर्षमा समग्र कृषि उत्पादक मूल्य सूचकांक ३ दशमलव ०३ प्रतिशतले मात्र बढेको देखिन्छ । यसको सिधा अर्थ हो, किसानले आफ्नो उत्पादन बेच्दा पाउने मूल्यमा खासै ठूलो सुधार भएको छैन ।
![]() |
![]() |
![]() |
|---|
तर, अर्कोतर्फ बिचौलिया संयन्त्र र आयातित महँगीका कारण उपभोक्ताको भान्सा भने इतिहासकै महँगो बन्दै गएको छ ।
नेपालका झन्डै ६० प्रतिशतभन्दा बढी नागरिक कृषिमा आश्रित रहेको बताइन्छ । तर, खेतबाट भान्सासम्म आइपुग्दा कृषि उपजको मूल्य अकासिँदै गर्दा, त्यसको असली लाभ कसले पाइरहेको छ ?
तथ्यांक अनुसार कृषि उपजहरूमा सबैभन्दा बढी मूल्य वृद्धि फलफूल र केही विशेष तरकारी बालीमा देखिएको छ ।
Image Source: © https://mulpatra.com
किसानको तहमा केराको मूल्य सूचकांक गत वर्षको २४० दशमलव ५७ बाट बढेर यो वर्ष २७१.०५ (१२ दशमलव ६६ प्रतिशत वृद्धि) पुगेको छ । यसले केरा उत्पादक किसानले यो त्रैमासिकमा केही राहत पाएको देखाउँछ ।
तरकारीतर्फ काउली ः फूलगोभीको उत्पादक मूल्यमा १३ दशमलव ३६ प्रतिशत र बन्दागोभीमा ११ दशमलव ३२ प्रतिशतको वृद्धि देखिएको छ ।
टमाटर–गोलभेँडामा पनि ९ दशमलव ६५ प्रतिशतको वृद्धि छ ।
तर बजारमा प्याजको मूल्य सधैँ चर्चामा रहे पनि यस पालि किसानको तहमा प्याजको मूल्य सूचकांक ५ दशमलव ५४ प्रतिशतले घटेको छ (गत वर्ष २२० बाट घटेर २०७) । त्यस्तै, समग्र मसला बालीको मूल्यमा पनि २ दशमलव ३९ प्रतिशतको गिरावट आएको छ ।
खाद्यान्न र दुध उत्पादनः लागत अनुसार मूल्य शून्य !
नेपालीको भान्साको मुख्य आधार मानिने अन्नबाली (गहुँ, जौ आदि) र दुधको उत्पादक मूल्य सूचकांकको अवस्था हेर्ने हो भने किसानहरू पलायन हुनुको कारण स्पष्ट देखिन्छ ।
गहुँ र जौ ः गहुँको मूल्य सूचकांक गत वर्ष २०४ दशमलव १३ रहेकोमा यो वर्ष २११ द्यशमलव ०४ मात्र पुगेको छ, जुन केवल ३ दशमलव ३८% को वृद्धि हो । जौ–उवामा ४ दशमलव ०४ प्रतिशतको सामान्य वृद्धि छ । मलखाद, बीउ र डिजेलको मूल्य दोब्बर हुँदा खाद्यान्नको मूल्य ३ प्रतिशतले मात्र बढ्नुले किसान ऋणमा डुब्दै गएको संकेत गर्छ ।
सेतो सुन (दुध) को बेहाल ः देशैभरका दुग्ध उत्पादक किसानहरूले भुक्तानी नपाएर आन्दोलन गरिरहँदा तथ्यांकले पनि उनीहरूको पीडा बोल्छ । दुधको उत्पादक मूल्य सूचकांक गत वर्ष १९८ दशमलव ८३ रहेकोमा यो वर्ष २०१ द्यशमलव ६९ मात्र पुगेको छ— अर्थात् मात्र १ दशमलव ४३ प्रतिशतको वृद्धि । बजारमा प्रशोधित दुध र दुग्धजन्य पदार्थको मूल्य प्रतिलिटर १० देखि २० रुपैयाँसम्म बढाइँदा किसानको खल्तीमा भने जम्मा १ प्रतिशत मात्र थपिएको छ ।
नाफा कसको गोजीमा ?
यो सरकारी तथ्यांकले एउटा गम्भीर नीतिगत प्रश्न खडा गरेको छ । यदि किसानले पाउने मूल्य केवल ३ प्रतिशतले मात्र बढ्छ र केही बालीमा घट्छ भने, बजारमा उपभोक्ताले तिर्ने मूल्य किन सधैँ दोहोरो अंकले अकासिन्छ ?
खेतबाट निस्केको तरकारी र खाद्यान्न उपभोक्ताको भान्सासम्म आइपुग्दा ४ देखि ५ तहका बिचौलिया, ढुवानी कार्टेलिङ र बजार अनुगमनको अभावका कारण मूल्य तेब्बर हुन्छ । फलस्वरुप, एकातिर उपभोक्ताहरू महँगीले ढाड सेकिएको गुनासो गर्छन् भने अर्कोतिर उत्पादन गर्ने किसानले आफ्नो लागत समेत उठाउन नसकेर खेतमै डोजर चलाउन वा खाडी मुलुक पलायन हुन बाध्य छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयको यो सूचकांक केवल अंककोे खेल मात्र होइन, यो नेपाली कृषिक्षेत्रको दुर्दशा र बिचौलिया संयन्त्रले गरिरहेको ब्रह्मलुटको ऐना हो । सरकारले न्यूनतम समर्थन मूल्य तोक्ने मात्र होइन, ‘फार्म टु टेबल’ (खेतदेखि भान्सासम्म) को आपूर्ति शृङ्खलालाई व्यवस्थित नगरेसम्म नेपालको कृषि क्षेत्र आत्मनिर्भर बन्न असम्भव देखिन्छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



