गृहमन्त्रीको दबाबपछि शंकास्पद पार्किङ गरिएका पाँचवटै गाडी बिनाकारबाही छुटे
काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा आवागमन अवरोध हुने गरी बेवारिसे छाडिएका पाँचवटै गाडीहरू बिनाकारवाही फिर्ता गरिएका छन् । सोमबार राति नै साँचो लिएर आउने व्यक्तिहरुलाई ट्राफिक कार्यालयले ती गाडी जिम्मा लगाएको हो ।

तीन मिडिया हाउसका साथै कांग्रेस सभापति गगन थापाको रातोपुलस्थित निवास र भाटभटेनी सुपर स्टोरमा शंकास्पद ढंगले पार्किङ गरिएका गाडीहरू शंकाष्पदरूपमा नै छुटेका हुन् । उपत्यका ट्राफिकले सामान्य जरिबाना पनि नतिराइ गाडी छाडिदिएको छ । यसबारे बुझ्न नेपाल प्रेसले ट्राफिक प्रवक्तालाई मंगलबार बिहानदेखि गरेको फोन रिसिभ भएन ।
ट्राफिक स्रोतका अनुसार सोमबार राति गृह मन्त्रालयले ती गाडीलाई तत्कालै छोड्न दबाब दिएको थियो । मन्त्रालयकै हवाला दिएर पुगेका चालकहरूले गाडी लिएर गए । गाडी बुझेर लैजाने व्यक्ति सवारी धनी नभएर उनीहरुले पठाएका व्यक्ति हुन् । उनीहरुको नाम उपत्यका ट्राफिक प्रहरी कार्यालयको अभिलेखमा छैन । यदि जरिबानाको चिट काटिएको भए ती नामहरू स्वतः ट्राफिक कार्यालयमा अभिलेखित हुन्थे ।
![]() |
![]() |
![]() |
|---|
शंकास्पद पार्किङ गरिएका गाडीका धनी पनि पहिचान भइसकेको थियो । गगन थापाको घरमा राखिएको गाडी कुमारप्रसाद अर्यालको नाममा यातायात व्यवस्था कार्यालयमा दर्ता रहेको ट्राफिक स्रोतले जनायो ।
कान्तिपुर पब्लिकेसन्सअगाडि राखिएको गाडी रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणिप्रसाद कलवारका छोरा एवं रास्वपाका केन्द्रीय विभाग सदस्य रवि जयसवालको भन्ने कुरा पनि पुष्टि भइसकेको छ । तर, गृह मन्त्रालयको दबाबपछि गाडी बुझ्न उनीहरू आफैँ गएनन् । ट्राफिक प्रहरीले जानेहरूको अभिलेख पनि राखेन ।
नेपाल प्रेसले गाडी धनी जयसवाललाई सोमबारदेखि उनको मोबाइल नम्बर ९८५५०८८८२२ मा सम्पर्क गर्न खोज्दा मंगलबार दिउँसोसम्म स्वीच अफ छ । उपत्यका ट्राफिकका प्रवक्ता नरेशराज सुवेदीले नेपाल प्रेसलाई पहिले बताएअनुसार यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार कारबाही गर्ने तयारी थियो ।
Image Source: © https://mulpatra.com
त्यसअनुसार पहिलो पटकको कसुरमा ५०० रुपैयाँ जरिबाना हुन्थ्यो । त्यस दफामा अरुलाई बाधा पुग्ने गरी सार्वजनिक स्थानमा सवारी साधन राख्न नपाइने र सवारी अड्याउन निषेध गरिएको ठाउँ या समय अड्याउन नपाइने व्यवस्था छ । तर, राति नै गाडी छोड्न दबाब आएपछि ट्राफिक आफ्नो योजनाबाट पछाडि हटेको हो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



