कोलकाताबाट कार्गो अब २४ घण्टामै, कोलकाता–विराटनगर रेल कार्गो सेवा सुरु भएपछि व्यवसायीलाई राहत
भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवा सुरु भएको छ। नेपाल–भारत पारवहन सहमतिअन्तर्गत नेपाली महावाणिज्य दूतावास, कोलकाताको पहलमा साउन १ गतेदेखि सेवा सञ्चालनमा आएको हो।

पहिलो चरणमा भारतीय कन्टेनर निगम लिमिटेडमार्फत ४० वटा ४० फिट क्षमताका कन्टेनर स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको क्यानोला ग्रेन बोकेर विराटनगरको भेडियारीस्थित संयुक्त भन्सार जाँचचौकीसम्म पठाइएको छ। रेलमार्फत आएका कन्टेनर भन्सार जाँचपासपछि ट्रकमार्फत सम्बन्धित उद्योगसम्म पुर्याइने व्यवस्था गरिएको छ।
यो सेवा सञ्चालनसँगै कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट एकैपटक ४५ वटासम्म ४० फिटका कन्टेनर सिधै विराटनगर ल्याउन सकिने भएको छ। यसअघि यस्तो सुविधा वीरगन्जमा मात्र उपलब्ध थियो। रेलमार्फत ढुवानी हुँदा सामान करिब २४ घण्टाभित्र विराटनगर आइपुग्ने छ ।

ढुवानी लागत घट्ने, मालसामानको सुरक्षा र विश्वसनीयता बढ्ने तथा बन्दरगाहमा लाग्ने डिमरेज, कन्टेनर डिटेन्सन र सडक ढुवानीसम्बन्धी अतिरिक्त खर्चमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ। यसबाट विशेषगरी कोशी प्रदेशका उद्योगी–व्यवसायीलाई तेस्रो मुलुकबाट कच्चा पदार्थ तथा औद्योगिक सामग्री आयात गर्न ठूलो राहत मिल्ने विश्वास गरिएको छ।
विराटनगरसम्म कार्गो रेल सञ्चालन उद्योगी–व्यवसायीको लामो समयदेखिको माग थियो। भारत सरकारले २०२५ नोभेम्बरमा रेलमार्फत कार्गो ढुवानीको व्यवस्था संशोधन गरेपछि २०२६ फेब्रुअरीमा कोलकाता भन्सारले आवश्यक प्रक्रिया पूरा गर्दै मार्ग खुला गरेको थियो। यद्यपि, नेपालतर्फ कटहरीसम्मको रेलमार्ग निर्माण भने जग्गा मुआब्जा विवादका कारण अझै सम्पन्न हुन सकेको छैन।
Image Source: © https://mulpatra.com
त्यसैले हालका लागि कार्गो रेल भेडियारी स्टेसनसम्म मात्र आउनेछ। बाँकी पूर्वाधार निर्माण सम्पन्न भएपछि सेवा अझ प्रभावकारी हुने र औद्योगिक तथा व्यापारिक गतिविधिमा थप गति आउने अपेक्षा गरिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
