रास्वापा सांसद यज्ञमणी भन्छन्ः न्यायालय पुनर्संरचनाको जरुरी छ
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले मुलुकमा सुशासन, विधिको शासन र भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन न्यायालयको पुनर्संरचना अपरिहार्य रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्तमान न्याय प्रणालीप्रति नागरिकको विश्वास बलियो बनाउन संरचनागत सुधार आवश्यक भइसकेको उल्लेख गरेका छन्।
सांसद न्यौपानेले पछिल्ला केही शृङ्खलाबद्ध घटनाक्रमले न्याय प्रणालीबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखाएको बताएका छन्। आम नागरिकले निष्पक्ष र सहज रूपमा न्याय पाउने वातावरण अझै सुनिश्चित हुन नसकेको उनको भनाइ छ।

न्यायालयका संरचना, कार्यप्रणाली र उत्तरदायित्वका विषयमा समयमै सुधार प्रक्रिया अघि नबढाइए भविष्यमा त्यसको प्रभाव अझ गम्भीर हुन सक्ने चेतावनी उनले दिएका छन्। उनले आफ्नो धारणा कुनै आवेगको परिणाम नभई समसामयिक अवस्था र विभिन्न घटनाको गम्भीर विश्लेषणपछि बनेको निष्कर्ष भएको स्पष्ट पारेका छन्।
उनले राज्यका सबै निकाय समयअनुकूल परिवर्तनका लागि तयार हुनुपर्नेमा जोड दिएका छन्। ‘राज्यका सबै निकायले परिवर्तनलाई आत्मसात् गर्न सक्नुपर्छ, त्यसपछि मात्रै देश परिवर्तन सम्भव हुन्छ, भन्ने उनको भनाइ छ। पछिल्लो समय न्यायिक निर्णयहरूलाई लिएर सार्वजनिक बहस बढिरहेका बेला सांसद न्यौपानेको अभिव्यक्तिलाई न्याय प्रणाली सुधारसम्बन्धी राजनीतिक बहसको एउटा महत्वपूर्ण आवाजका रूपमा हेरिएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
