हिउँदे वर्षा र हिमपात हुने, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन

अतन्त : नेपालमा हिउँदे वर्षा हुने भएको छ। वर्षा र हिमापात हुने भएपछि जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभागका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Western Disturbance) को कारण नेपालमा वर्षा र हिमपात हुने छ । बुधबार अपरान्हबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागका धेरै स्थानहरूमा साधारणतया बदली रहने छ ।
सो प्रणालीका कारण भोलि बुधबार देखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भू-भागहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार उक्त प्रणालीका कारण बुधबार र बिहीबार तापक्रम घटेर हल्का चिसो बढ्न सक्ने सम्भावना रहेको छ । आउँदो शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने देखिन्छ ।
यस मौसमी प्रणालीका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले विशेष बुलेटिन मार्फत आग्रण गरेका छ ।