लक्ष्मीकिशोर सुवेदी बने शिक्षक महासंघको अध्यक्ष, संगठनले धारणा सार्वजनिक गर्दै

काठमाडौंः नेपाल शिक्षक महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन सकिएको १५ दिन पछि अध्यक्षको घोषणा गरिएको छ । महासंघका पूर्व महासचिव लक्ष्मीकिशोर सुवेदीलाई अध्यक्ष घोषणा गरिएको हो।
नेपाल शिक्षक संघका सुवेदी अध्यक्ष बनेका हुन । त्यसैगरी सहअध्यक्षमा नानुमाया पराजुलीलाई चयन गरिएको छ । उपाध्यक्षमा गंगा पौडेल, जयानन्द ठाकुर, हरेन्द्र प्रसाद चौरसिया, पुष्पराज कुँवर, विक्रम झा, देविदत्त पौडेल रहेका छन् ।
उपमहासचिव अर्थमा मदनराज जोशी, र अन्य उपमहासचिवमा गुरु प्रसाद पौडेल र पुष्कर सापकोटा चयन भएका छन् ।
सचिवमा कल्पना पनेरु, केशव राज रेग्मी, अर्जुन नगरकोटी, जगदीश शाह, लालबाबु प्रसाद जोशी, हरी प्रसाद जोशी र सुरेश शाह सोमार रहेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घोषणा कार्यक्रममा नआएपछि संगठनको भागमा परेका पदाधिकारीहरूको पद खाली राखेर अन्यमा घोषणा गरिएको छ । संगठनको भागमा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव १, सचिव १ सहित ६ सदस्य गरी ११ जनाको पद खाली राखिएको छ ।
महाधिवेशन वैधानिक तरीकाले नगरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले बहिष्कार गरेको थियो । संगठनले विधानमा व्यवस्था भए अनुसार २०७८ पछि स्थायी शिक्षकहरूलाई समावेश गर्नुपर्ने, स्थानीय तह, जिल्ला, प्रदेशदेखिनै अधिवेशन गरेर महाधिवेशन गर्नुपर्ने र महासङ्घ पुनर्गठन गर्नुपर्ने अडान राख्दै आएको छ ।
महासंघ वैधानिक नभएको हुनाले आज पत्रकार सम्मेलन गरी संगठनले आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ ।