खराब ब्याटिङसँगै नेपाल बंगलादेशसँग पराजित, विश्वकपमा जितविहीन

खराब ब्याटिङसँगै नेपाल बंगलादेशसँग पराजित, विश्वकपमा जितविहीन
  • ४ असार २०८१, सोमबार ०४:१८

काठमाडौं– वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ। केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो।

mulpatra

२६ रनमा ५ विकेट गुमाएको नेपालले छैटौँ विकेटका लागि ५२ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएको थियो। १७ औँ ओभरको चौथो बलमा कुशल मल्ल छैटौँ विकेटका रुपमा आउट हुँदा नेपालले ७८ रन जोडेको थियो। नेपाललाई अन्तिम तीन ओभरमा २९ रन चाहिएको थियो।

१८ औँ ओभरको पहिलो बलमा दीपेन्द्रले छक्का प्रहार गरेपछि खेलमा नेपाल बलियो बनेको थियो। तर उक्त ओभरको पाचौँ बलमा गुल्सन झा गोल्डेन डक आउट भए। १९ औँ ओभर मुस्ताफिजुर रहमानले विकेट मेडन फ्याँके। सुरुका पाँच बलमा रन नदिएका मुस्ताफिजुरले अन्तिम बलमा दीपेन्द्रलाई आउट गरेका थिए।

mulpatra mulpatra mulpatra

त्यसपछि लगातार दुई बलमा नेपालले दुई विकेट गुमाएर अलआउट भएको थियो। नेपालका लागि कुशल मल्लले ४० बलमा २७ र दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २५ रन जोडे।

अनिल शाह, गुल्सन झा, सोमपाल कामी, अविनाश बोहराले खाता खोल्न सकेनन्। सन्दीप लामिछाने शून्यमा नटआउट रहे। रोहित पौडेल र सन्दीप जोराले एक एक रन बनाए भने आसिफ शेखले १७ र कुशल भुर्तेलले ४ रन जोडेर आउट भए।

बंगलादेशका तान्जिम हसन सकिबले ४ ओभरमा २ मेडन राखेर ७ रन खर्चँदै ४ विकेट लिए। मुस्ताफिजुर रहमानले ४ ओभरमा एक मेडन राखेर ७ रन खर्चँदै ३ विकेट हात पारे। २.२ ओभर बलिङ गरेका सकिब अल हसनले ९ रन दिएर २ विकेट लिए।

Image Source: © https://mulpatra.com

तान्जिमको घातक बलिङपछि नेपाल २६–५ को स्थितीमा पुगेको थियो। अघिल्लो खेलमा पनि नेपालले दक्षिण अफ्रिकालाई एक सय १५ रनमा सिमित गरेर पनि जित हात पार्न सकेको थिएन। नेपाल एक रनले पराजित भएको थियो। नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म टेस्ट मान्यताप्राप्त टोलीलाई हराउन सकेको छैन।