अपाङ्गता बालबालिकाको भविष्य बनाउन साहारा बनेकी रत्नकला डल्लाकोटी

अपाङ्गता बालबालिकाको भविष्य बनाउन साहारा बनेकी रत्नकला डल्लाकोटी
  • २४ मंसिर २०८१, सोमबार १०:२२

काठमाडौं– सन्तानको सफलता नचाहने र उनीहरुको भविष्यबारे सपना नदेख्ने अभिभावक को होलान् । जोकोहीलाई आफ्नो सन्तानको सफलता देख्ने रहर हुन्छ । रत्नकला ओली डल्लाकोटीको सपना पनि त्यो भन्दा फरक थिएन । उनी आफ्नो पहिलो सन्तानको खुसी र सफलतामा रमाउने सपना देखेकी थिइन् ।

डल्लाकोटीको परिवारमा ठूलो बज्रपात आइलाग्यो । पहिलो सन्ताननै शारीरिक रुपमा अपाङ्गता भएको अवस्थामा जन्मियो । विसं २०६० मा जन्मिएका ओम कृशान्त डल्लाकोटी अस्पतालबाटै शारीरिक अशक्त भएको परिवारले थाहा पाएपछि रत्नकलालाई मन–मनै अनेक कुरा खेले । कृशान्त हाल २१ वर्ष पुगे । उनी पूर्ण रुपमा शारीरिक रुपमा अपाङ्ग छन् ।
‘पहिलो सन्तानप्रतिको सपना र चाहनामा तुसारापात भयो । परिवारमा बज्रपात आइलाग्यो । कृशान्तका बुबा उद्धवराज डल्लाकोटीले भावुक मुद्रामा बताउँछन् । ‘मेरा अरु दुई छोरा राम्रा छन् । एउटा अध्ययनका लागि विदेशमा । अर्को नेपालमै लङ टेनिस खेलाडीमा भविष्य खोजीरहेको छ ।’ उनले भने ।

कृशान्त शारीरिक अपाङ्गता भएपछि रत्नकला ओलीले अपाङ्गता स्याहार केन्द्र खोल्ने अठोट गरिन र २१ वर्ष अगाडि अपाङ्गताको साहारा बन्न उनले अपाङ्गता बालबालिका स्याहार केन्द्र खोलिन । छोराको नाममा २०६७ सालमा ‘ॐ’ स्थापना गरेर ओलीले शारीरिक र मानसिक समस्यामा परेको बालबालिकाको साहारा बनिन । अहिले उनी यसैमा धेरै बालबालिकाको भविष्य समेत बनेकी छिन् ।

१० वर्ष भाडाको घरमा सञ्चालन हुँदै आएको केन्द्र हाल अढाइ तले सुविधासम्पन्न पक्की भवनमा सरेको छ । भवनका लागि उद्धवराज डल्लाकोटीले पाँच आना क्षेत्रफल जग्गा भूमि दान दिएका छन् ।

उक्त भवनको ३३औँ अपाङ्गता अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार नवनिर्मित स्याहार केन्द्र भवनको चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख धनश्याम गिरी र किवानिज इन्टरनेशनल बोर्ड अफ ट्रष्टि मोहन लम्सालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
केन्द्रकी अध्यक्ष डल्लाकोटीले चन्द्रागिरि नगरपालिकासँगको समन्वय र सहकार्यमा भवनको क्षमता अभिवृद्धि गर्ने र भवनमा आवश्यक पूर्वाधार विकास गर्ने योजना कार्यक्रममा बताइन् ।
नयाँ भवन पाएपछि अपाङ्गता भएका बालबालिका निकै खुसी भएको र उनीहरुका लागि आफु साहारा आमा बन्ने समेत जानकारी गराइन् । अपाङ्गता दिवसको दिन अशक्त बालबालिकालाई उपहारस्वरुप नयाँ भवन सम्पन्न गर्न पाउँदा अत्यन्तै हर्षित भएको उनको भनाइ छ ।

पाँच÷सात जनाको समूहले २० लाख रकमबाट निर्माण सुरु गरेको स्याहार केन्द्रलाई विभिन्न दाता, शुभेच्छुक र स्वीट्जरल्याण्डका दुई नागरिकको सहयोगमा आफ्नै भवन बनाइएको केन्द्रले जनाएको छ । फिस्टेल सेक्युरिटी सर्भिसको प्रबन्ध निर्देशकसमेत रहेकी रत्नकलाका श्रीमान् उद्धवराज डल्लाकोटीले केन्द्रको कोषाध्यक्षको भूमिकामा छन् । उनले केन्द्र सञ्चालनमा महत्वपुर्ण भुमिका समेत निर्वाह गरेको पाइन्छ ।

भवन निर्माणका लागि चन्द्रागिरि नगरपालिका तथा नेपालबाट ८० भन्दा बढी दाता र केही विदेशी नागरिकले सहयोग गरेको केन्द्रले जनाएको छ । हालसम्म दुई करोड १९ लाख खर्च भएको अध्यक्ष ओलीले जानकारी दिइन् । भवनमा २६ जना अपाङ्गता बालबालिका रहेको उनको भनाइ छ ।

केन्द्रको यस्ता बालबालिका छन्

अस्पतालमा उपचार हुन नसकेर बेवारिसे बनेका, सडकमा अलपत्र परेका र अपाङ्गता भएका बालबालिकालाई स्याहार केन्द्रमा ल्याएर हुर्काउने र शिक्षा प्रबन्ध मिलाइएको संस्थाले काम गर्दैै आएको छ । केन्द्रले सीपमूलक हस्तकलाका सामग्री उत्पादनमा सक्रिय गराउँदै आएको छ । केन्द्रमा घरपरिवार बा, आमाको घरका झगड़ा छुट्टिएपछि बेसहारा भएका बालवालिका गाउँ छिमेक, नगरपालिका, वडाबाट सिफारिस भएर आउने गरेका छन् । संस्थाले यस्ता बालबालिका विभिन्न किसिमबाट अपाङ्गता भएका कारण आफ्नो स्याहार आफैँ गर्न नसक्ने बालबालिकालाई ‘फिजियोथेरापी’, विशेष शिक्षा दिँदै आएको ओलीले जानकारी दिइन् ।
अपाङ्गता स्याहार केन्द्रले राष्ट्रिय बालअधिकार परिषद् तथा बालबालिका खोजतलास केन्द्रबाट सडकमा अलपत्र भएका बालबालिकाहरू सिफारिस गरेका आधारमा बालबालिकालाई स्याहार केन्द्रमा संरक्षण गर्दै आएको केन्द्रले जनाएको छ । बाबा आमा कोही नभएर परिवारबाट अपहेलित भएर सडकमा आएका बालबालिकालाई यहाँ ल्याउने गरिन्छ । धेरैजसो बालबालिका खोजतलास केन्द्रबाट आएका छन् ।

केन्द्रका बारेमा कसले के भने

अपाङ्गता भएका बालबालिकाको संरक्षण र स्याहार सुसारका लागि नगरपालिकाले सम्बन्धित संस्थाहरुसँग सहकार्य गर्दै आएको चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले बताएका छन् ।

आवासीय रुपमा ओम अपाङ्गता बालबालिका स्याहार केन्द्र स्थापना हुने नगरपालिकाकै गौरवको विषय भएको भन्दै नगरपालिकाभित्र दुई सयभन्दा बढी अपाङ्गता भएका बालबालिकाको व्यवस्थापनमा सरोकारवाला संस्थासँग सहकार्य गरिरहेको उनले बताए । ‘अशक्त बालबालिकालाई आवास मात्रै नभई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने कार्यमा पनि नगरपालिकाले सहजीकरण गरिरहेको छ ।’ उनले भने ।

यस्तै, पर्यटन व्यवसायी मोहन लम्सालले शारीरिक र मानसिक रुपमा अपाङ्गता भएका बालबालिकाको लागि आवासीय स्याहार केन्द्र स्थापनामा सहयोग गर्ने अवसर पाउँदा खुसी लागेको भएको बताएका छन् । उनले आगामी दिनमा यस्ता केन्द्र र विद्यालय निर्माणमा निरन्तर सहयोग जुटाउने समेत बताए ।

यसैगरी, चन्द्रागिरि वडा नं १३ का अध्यक्ष श्रीकृष्ण खत्रीले अशक्त बालबालिकाको स्थायी व्यवस्थापनका लागि स्थापित स्याहार केन्द्रलाई नमूनाको रुपमा विकास भएको र आगामी दिनका संस्थाप्रति वडा जिम्मेवार हुने जानकारी गराए ।

बालअधिकारको क्षेत्रमा कार्यरत नवीनचन्द्र घिमिरेले अपाङ्गता भएका बालबालिकाको स्थायी व्यवस्थापन निकै जटिल विषय बनिरहेको सन्दर्भमा यस्ता आवासीय भवन उपयोगी हुने उनको दाबी छ ।

राष्ट्रिय बालअधिकार परिषद्बाट सिफारिस गरेर पठाएका बालबालिकालाई वार्षिक पाँच÷छ लाख परिषद्ले अनुदान दिदैँ आएको छ । भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय, स्थानीय क्लब, स्थानीय नागरिक, चिनजानबाट पनि सहयोग प्राप्त हुने गरेको केन्द्रले जनाएको छ । स्याहार केन्द्रमा मस्तिष्क पक्षघात भएका, शारीरिक अपाङ्गता भएका बालबालिका छन् । केन्द्रको भवन निर्माणमा सहयोग पुर्याउने दाताहरुलाई सम्मान समेत केन्द्र गरेको छ ।