Close

Recent Posts

प्रश्न गर्नेमाथि ओलीको ‘डन्डा’, आन्तरिक लोकतन्त्र हराएको एमाले

प्रश्न गर्नेमाथि ओलीको ‘डन्डा’, आन्तरिक लोकतन्त्र हराएको एमाले
  • ११ पुष २०८१, बिहीबार १०:२९

काठमाडौं–एमालेले पार्टीभित्र फरक मत राख्ने र नेतृत्वमाथि प्रश्न उठाउनेलाई ‘अनुशासनको डन्डा’ लगाएर निस्तेज पार्ने रणनीति अंगीकार गरेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कन सक्ने चर्चा र सम्भावनाबारे नेताहरूबिच अनौपचारिक छलफल जारी रहेकै वेला एमालेले पार्टी निर्णय र नेतृत्वको नियतमाथि प्रश्न उठाउने तीन केन्द्रीय नेतामाथि अनुशासनको कारबाही गरेको छ ।

mulpatra

केन्द्रीय सचिवालयको बुधबारको बैठकले पूर्वउपाध्यक्ष भीम रावलसहित तीन नेतालाई पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेको हो । रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ भने स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ । विश्लेषकले यसलाई एमालेभित्र आन्तरिक लोकतन्त्र हराएको अर्थमा बुझ्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग पार्टी भवन बनाउन झन्डै एक अर्बको जग्गा दानमा लिने निर्णयको विरोध गरेकामा नेताहरू कारबाहीमा परेका छन् । उनीहरूले यस्तो निर्णय पार्टी अध्यक्ष केपी ओलीकै चाहनामा भएको प्रतिक्रिया दिएका छन् । सरकारको नेतृत्व गरेको एमाले अहिले मिसन ०८४ मा छ । केही दिनअघि ओलीले पार्टीमा कुनै गुट नरहेको बताएका थिए । उनी नेतृत्वमा आएदेखि नै एमालेमा आन्तरिक लोकतन्त्र कमजोर बनेको टिप्पणी हुने गरेका छन् ।

mulpatra mulpatra mulpatra

०७८ को मंसिरमा चितवनमा सम्पन्न दसौँ महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल पार्टीको जिम्मेवारीमा थिएनन् । विधानले पदाधिकारीमा उम्मेदवारी दिने व्यक्तिले स्वतः केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिनुपर्ने व्यवस्था गरे पनि उनले त्यसलाई पनि अस्वीकार गरेका थिए । केन्द्रीय सल्लाहकारको जिम्मेवारी दिने पार्टी निर्णय पनि अस्वीकार गरी उनी निष्क्रिय थिए ।

अघिल्लो वर्ष पार्टी कार्यालयमा अध्यक्ष ओलीसँग संवाद गरेबाहेक रावल गृहजिल्ला अछाम र सुदूरपश्चिमका केही ठाउँमा स्थानीय पार्टी नेता–कार्यकर्तासँग भेटघाट र संक्षिप्त कार्यक्रममा मात्र सहभागी हुँदै आएका थिए । अघिल्लो वर्ष केन्द्रीय महाधिवेशन परिषद्को बैठकमा पनि उनी सहभागी भएका थिएनन् ।

रावललाई पार्टीले दिएको जिम्मेवारी पनि नलिएको र पार्टी नीति तथा नेतृत्वविरुद्ध निरन्तर सार्वजनिक अभिव्यक्ति दिएर पार्टीलाई कमजोर बनाउने भूमिका खेलेको भन्दै गत ६ कात्तिकमा सचिवालयकै बैठकले स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरणको कुनै औचित्य नरहेको भन्दै जवाफ नफर्काएका रावललाई पार्टीलाई कमजोर बनाउन सक्रिय बनाउन भूमिका खेलेको आरोपमा सदस्यताबाटै निष्कासन गरिएको छ ।

Image Source: © https://mulpatra.com

त्यस्तै, स्थायी समिति सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सिनालाई केन्द्रीय कार्यालय भवन निर्माणका लागि लिइएको जग्गा दानको विषयमा पार्टी निर्णयविरुद्ध सार्वजनिक टिप्पणी गरेर पार्टीको विधि र अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधिएको थियो । उनीहरूले १२ कात्तिकमा प्रस्टीकरण फर्काए पनि कमजोरी महसुस गरेर आत्मालोचना नगरेको भन्दै एमालेले ६ महिना जिम्मेवारीबाट निलम्बन गरेको हो ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेलले रावलसहित नेताहरूमाथिको कारबाही एमालेभित्र आन्तरिक लोकतन्त्र हराएको अर्थमा बुझ्नुपर्ने टिप्पणी गरे । ‘लोकतन्त्रका लागि धेरै लामो समय लड्ने, संघर्ष गर्ने मुख्य नेता केपी ओली नै अध्यक्ष बनेपछि पार्टीभित्रको आन्तरिक लोकतन्त्र हरायो,’ पोखरेलले भने, ‘भीम रावलले चुनाव त जित्दैनथे, तर, अध्यक्षमा प्रतिस्पर्धा गरेर एमालेभित्र आन्तरिक लोकतन्त्र रहेको उदाहरण दिएका थिए । तर, आखिर उनका लागि त्यही प्रतिस्पर्धा नै अपराधसरह भएको देखियो ।’