Close

Recent Posts

निर्माता निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेबाट ठगिएकी दिदीको पीडाः जेलमै मृत्य हुन्छ कि भन्ने पीर

निर्माता निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेबाट ठगिएकी दिदीको पीडाः जेलमै मृत्य हुन्छ कि भन्ने पीर
  • २४ मंसिर २०८१, सोमबार १९:४७

काठमाडौं । तराईबाट काठमाडौं आएकी रमा (परिवर्तीन नाम) सँग मिल्ने श्रीमान् थिए । काठमाडौं शहरमा दुबै खुशी थिए । प्राइभेट अफिसमा काम गर्ने श्रीमान्को कमाईले चाबहिल तिर कोठा भाडामा लिएर दुःख जिलो गरेर चलाइरहेको जीवनमा विस्तारै खुसी आयो छोरासँगै । छोरा हुर्कदै गर्दा लक्ष्मीको रुपमा छोरी आइन ।
चार जनाको परिवार चलिरहेको बेला अर्को खुुशी आयो । उनले तिहारमा भाइटिका लाउने भाइ पाइन शंकर ।
भाइसँगै उनले कलाकार पाइन, निर्माता पाइन र निर्देशक पनि पाइन ।
प्यारो भाई पाएकी थिइन उनले, खुशीको सिमा थिएन । भाइ पनि दिदीलाई औधी माया गर्दथ्यो । लाडप्यार, एकै परिवार झै । भाइको पनि पहिलो बच्चा जन्मियो । भाइले भनेपछि हस्पिटलको खर्च सबै दिदीले व्यहोरिदिइन् ।
विस्तारै छोरा छोरी हुर्कदै गए । जिम्मेवारी थपिँदै गए । भाइटिका लाउने भाईले पनि फिल्म निर्माण गर्ने हल्ला बजारभरि थियो । भाईले हिरोइन बुहारी भित्र्याएपछि फिल्म बनाउने हुटहुटीमा परिवार समेत खुशी थियो ।
बुहारीसँगै आएको शंकरले एकदिन दिदीलाई भन्यो ‘दिदी तपाईसँग यत्रो समाज छ तपाईलाई पत्याउँछन पनि हामीलाई फिल्म निर्माण गर्न पैसा पुगेन खोजिदिनुन’
भाइको कुरा सुनेपछि उनले सोधिन ‘कति पुगेन’ ?
उसले सहजै भन्यो ‘जम्मा बीस लाख, छ महिनामा फिल्म चल्छ ब्याज सहित दिन्छु’ ।
भाइको कुरा सुनेपछि मनमा तनाव थपियो उनको । भाइले पैसा माग्दा पनि दिन नसक्ने भएँ कि भन्ने लाग्यो ।
र छिमेकी कहाँ पुगिन्, आफन्त कहाँ पुगिन्, साहु कहाँ पुगिन् । उनको व्यवहारले साहुले ऋण पत्याए
बीस लाख ऋण पाइन पनि ।
छोरा छोरी र आफ्नो व्यवसायले नधानेकाले उनले तीन लाख रुपैया आफै राखी बाँकी सत्रलाख प्यारो भाइलाई दिईन् । भाइसँगको कारोबार भएपछि उनले कागज गर्ने, चेक लिने भन्ने सोचिनन् ।
सत्र लाख पाएपछि भाई शंकर फिल्म निर्माणमा जुट्यो ।
साहुसँग लिएको ऋणको छ महिनाको भाखा नाघेपछि साहुले उनलाई सोधीखोजी गर्न थाल्यो ।
भाई आएपछि उनले सबैकुरा सुनाइन् । ‘साहुले पैसा दे भन्दै छ के गर्ने’ ।
दिदीको कुरा सुनेपछि भाईले ‘दिदी तपाईसँग चेक छ ज्ञारेन्टी दिई राख्नु मेरो फिल्मको सुटिङ सकियो डब भैराछ । चल्ने वित्तिकै म पैसा दिईहाल्छु ।’
‘भान्जा भान्जीलाई पनि त कलेजमा खर्च हुन्छ त्यसको जोहो पनि गर्छु म’
भाईले छोरा छोरीलाई पनि पढ्न सहयोग गर्ने भएपछि उनले खुशी हुँदै साहुलाई ज्ञारेन्टीका रुपमा आफ्नो चेक दिईन् ।
तिहार आयो । फिल्म सकिएकोमा भाई पनि खुसी थियो दिदी त झन भाइको प्रगतिमा खुसी हुने नै भईन् । दुबैले भाईटिका लगाए ।
भाईको दिर्घजीवनको कामना गर्दै शत्रु नलागोस भनेर ओखर फोरिन् । कहिले नओइलाउने मखमलीको माला लाइदिन् ।
यता फिल्म डबिङ सकियो । एकदिन फेरी शंकर भाइ घरमा आए ‘दिदी फिल्म रिलिज हुन तयारी हुँदैछ, अलिकति पैसा चाहियो, खोज्न सकिन्छ भने पाँच लाख जुटाउनु न अब त आइहाल्छ ।’
पैसा लिएर आउछ कि भनेको भाइ फेरी पैसा माग्दै आएपछि उनले नसक्ने बताउँदै भनिन ‘साहुले ब्याज माग्दै थियो मैले फिल्म रिलिज हुन दिनुन भनेर रोकि राखेको छु, अब त माग्ने ठाउँ पनि कोही छैनन ।’
दिदीको कुरा सुनेर शंकर भाइ ‘हुन्छ’ भन्दै हिँडेको फेरी फर्किएन ।
पन्ध्रदिन जति पछि उनले गाँइगुँई ‘शंकर भाई त अमेरिका गयो रे सपरिवार । फिल्म नेपालमा रिलिज नहुने भयो रे’ भन्ने सुनिन् ।
दिदीको मन अशान्त भयो, हतार हतार फोन डायल गरिन, फोन स्वीच अफ भन्यो । फेरी उही भाईको साथीलाई फोन डायल गरिन् र ‘शंकर कहाँ छ ?’ भनिन् भाइको साथीले ‘शंकर त परिवार सहित अमेरिका गयो’ भनेपछि उनलाई चक्कर आउला झै गर्यो र थचक्क बसिन् ।
भाईको तनाव त छँदैथियो त्यस भन्दा पनि बढी उनलाई हिजो मात्र साहुले दिएको समय सम्झेर तनाव थपियो ।
अमेरिका गएको भाइ बुहारी उतै हराए पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
यता ऋणको भारीले उनलाई दिनहुँ थिचिरहेको थियो । साहुको ताकेता र ब्याजको अंक बढीरहँदा उनी कमजोर भईरहेकी थिइन् । आमाले ऋण खोजेर भाइलाई पैसा दिएकोले विचल्ली हुने पिर छोरा, छोरी दुबैलाई पर्न थालिसकेको थियो । यस्तैविचमा छोरा विदेश गयो ।
त्यहि बेला उनका श्रीमान् विते । जीवनमा बज्रपात पर्यो । एकल महिलाको संख्या थपियो ।
श्रीमान् वितेपछि उनका दुःखका दिन शुरु भयो ।
घरमा भएकी छोरीको बिहे गर्नु थियो ऋणपान गरेर जसो तसो विहे गराइदिइन् । छोरी समेत आमा आफ्नै कारण डुबेको भन्दै परपर भैसकेकी थिइ ।
उता ब्याज वापतको रकमको समेत साहुले थप चेक लगिसकेको थियो । भाखा हाल्दै, थप्दै गरेका साहुले चेक बाउन्स गरेको उनलाई पत्तै भएन ।
एक दिन प्रहरीबाट फोन आएपछि झसंङ्ग भईन्, लुक्न खोजिन, भाग्न खोजिन तर सकिनन् र प्रहरीकहाँ पुग्नु पर्यो ।
प्रहरीले ‘बाउन्स भएको चेकको पैसा दिनुहुन्छ कि हिरासतमा राखौ’ भने । उनीसँग जवाफ थिएन । आँखाबाट आँसु झरिरहेका थिए । प्रहरीले हत्कडी लगायो र केही दिन पछि अदालतमा उपस्थित गरायो ।
अदालत सामु हारगुहार गरिन्, भाईको कुरा गरिन् । भाइले दिन्छु भनेको छ भनिन् तर अदालतले उनको भाइसँगकोे विश्वासलाई पत्याएन र त्यही विश्वासले उनी जेल जानु पर्यो ।
एकाउन्न बर्षमा जेल परेकी महिला । जेलको छिँडीमा जीवन विताउन सहज थिएन् । जेलको दैनिकी जेल पठाउने उही भाइ शंकर घिमिरेलाई सम्झँदै तीन वर्ष वितिसकेको थियो । एकदिन नराम्ररी विरामी भईन चिसो लाग्यो । वृद्ध शरिर थेग्न गारो हुँदै थियो । डाक्टरको सल्लाहमा तातो पानीको वाफ लिने भईन् ।
तातो पानी लिएर वाफ लिन तयार हुँदैगर्दा उम्लेको पानी उनको घुँडाबाट खनियो । एकाएक चिच्याइन्, कराइन, जेलका सबैको कान ठाढा भए । हतार हतार उनी भएतिर आए । उनको तलको भाग पानीले जलिसकेको थियो । डक्टर बोलाइयो । तर धेरै ठाउँ फोका उठीसकेको थियो । घाउ पाक्यो । निको हुन धेरै समय लाग्यो ।
अहिले उनी जेल बसेको पाँच बर्ष पुगीसकेको छ र उमेर छप्पन्न । अझै उनले पाँच बर्ष कटाउनु छ जेलमा ।
पाँचलाख रुपैया जम्मा गर्न सक्ने भए उनी अहिले नै जेलबाट निस्कन सक्छिन् तर पाँचलाख जुटाइदिने कोही छैन उनको । छोरा विदेशमा वेपत्ता छ, कहाँ छ अत्तोपत्तो छैन । छोरी विहे गरेर गईन् । जेल परेकी आमाको छोरी भनेर हेला गर्लान भन्ने पिर होला सायद । सम्पर्कमा छैनन् ।
अहिले पनि उनको पोलेको घाउमा दुख्छ । छाला आउन नसकी रातै देखिन्छ । उनको पीडामा मल्हम लगाउने जेल भित्र त धेरै छन् । तर मनभित्रको पीडा र बुढो हुँदै गरेको शरिर थेग्न गारो लाग्न थालेको छ उनलाई ।
यत्तिकैमा यसपालिको भाइटिका सक्किसकेको थियो । कार्तिकको अन्तिम तिर एकदिन उनले जेलमै सुनिन उनलाई जेल पुर्याउने उही शंकर र ऋचाले अमेरिकामा फिल्म बनाएर नेपालमा चलाउँदै छन भन्ने ।
उनलाई उकुस मुकुस भयो, कसरी कसलाई भन्ने सोच्न सकेकी थिइनन् ।
त्यही बेला उनलाई खोज्दै चुनु थापा आएको जेलरले खबर गरे । चुनु थापासँग उनको चिनजान पहिले नै थियो । चुनु थापा पनि उनै शंकर र रिचाबाट ठगिएकी थिइन । यता चुनु थापा आफुलाई ठग्ने बाट नै ठगिएकी दिदी जेलमा छिन भनेपछि हतार हतार भेट्न जेल आएकी थिइन् ।
चुनुलाई भेटेपछि उनको आँसु थामिएन । विस्तारै सम्हाल्दै चुनुलाई उनले सारा घटना विवरण सुनाइन् ।
चुनु थापालाई पनि उनै शंकरले दिदी बनाएर भाईटिका लगाएका थिए ।
भाइ बनेर भाइटिका लगाउदिने ठगिएका दिदीहरु मध्ये अर्को नाम पनि जोडिन्छ सुधा क्षेत्रीको । जेलकी दिदी र चुनु थापासँग फिल्म निर्माणमा ऋण लिएका थिए भने सुधा क्षेत्रीसँग घर बनाउन भनेर ।
त्यसबापत सुधालाई उनले छ लाख त्रिसट्ठी हजारको चेक दिएका दिए । तर चेक दिएको केही समयमा उनी अमेरिका उडे । यता चेक साटिएन । भाईको विश्वासमा चेक बाउन्स पनि गरिनन् । अहिले आएर ‘चेक पुरानो भयो मुद्धा लाग्दैन’ भन्छ प्रहरी ।
तर सुधालाई अझै आशा छ पैसा पाउनेमा । प्रहरीको रोहबरमा उनले चेक वापतको रकम दिन्छु भनेर कबोल गरेका छन् ।
दिदी मात्र पनि छैनन ठगिनेमा दाई पनि छन् । विरामी भएर अहिले सघन उपचार गराइरहेका धरानका एकजना दाइ पनि उनै शंकरबाट ठगिएका छन् फिल्म बनाउन लिएको सापटी रकम नतिरेकाले उनको पनि घरवास उठेको थियो । तर विश्वासमा दिएको रकमका कारण यथेष्ट प्रमाण जुटाउन नसक्दा पिडीतको पिडा झन बढेको छ ।
माथिका भाइ बनेर ठग्दै हिड्ने पात्र अरु कोही नभएर भरखरै नेपालमा रिलिज भएको फिल्म तेल भिसाका निर्माता निर्देशक शंकर घिमिरे र ऋचा घिमिरे हुन ।
कलाकारको भेषमा बाह् बर्ष अघि अमेरिका छिरेका उनै दम्पत्ति अहिले तेल भिषा फिल्म निर्माण गरेर नेपाल आएको बखत अर्को मुद्धामा उनीहरु फन्दामा परे ।
चितवनका एक परिवारलाई नै अमेरिका सेटल गराउने जिम्मा सहित निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेले १ करोड २३ लाख लिएका थिए । तर उनीहरुलाई अमेरिका लैजान नसकेपछि पिडीत परिवारले आफु ठगिएको थाहा पाएको थियो ।
आफु ठगिएको प्रहरीमा उजुरी गरेपछि काठमाडौं प्रहरी परिसरले शंकर घिमिरे र ऋचा घिमिरेलाई बोलाएर पीडित पक्षलाई १ करोड १३ लाख तिर्न लगाएर छोडेको छ ।
यी घटना बाहिर आएपछि शंकर घिमिरेबाट ठगिएका चुनु, सुधा जिल्ला प्रहरी परिसर समेत पुगेका थिए । प्रहरीले मिल्न दवाब दिएपछि शंकर घिमिरेले पैसा दिने सर्तमा उजुरी फिर्ता लिएपनि हाल सम्म पैसा नदिई फोन उठाउन छोडेको दुईले बताएका छन् ।
लिखित नियमले भावना चिनेन र चुनु, सुधा जस्ता हजारौ प्रमाण नभएकाहरु अन्यायमा परिरहेका छन् । जेलकी दिदीको भावनाले पनि भन्छ ‘अलिखित संविधान भएको भए पक्कै भावना बुझेर हामी र हामीजस्ता ठगिएकाहरुले न्याय पाउने थियौ होला, यहाँ त प्रमाण चाहियो रे ।’ शंकर घिमिरे र ऋचा घिमिरेबाट ठगिएका बाहिर भएकाहरुले त फोन गर्दै तागेता गर्दै गर्ने छन नै उता जेलमा परेकी दिदीको तागेता गरिदिन न कोही छ, न उनी आफै गर्न सक्छिन । उनी जस्तै निर्दोश पाँच लाखका कारण पाँच बर्ष जेलमा बस्नु पर्ने वाध्यतामा कति निर्दोष होलान् !

mulpatra

दिदीलाई मुद्धा बारे पनि धेरै थाहा छैन । उनले वकिल भनेका व्यक्तिसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन । तर दिदी भन्छिन पाँच लाख भए निस्कन्छु रे । अचेल दिदीले जेलबाट चुनुलाई दिनहुँ जसो फोन गर्छिन् दुख साट्ने साथी पाएकी छिन । तर उनी आफैलाई जेलमै मर्छु कि भन्ने पिर छ अचेल ।