कांग्रेसनिकट नेविसंघले आन्तरिक विवाद मिलाउन नसकेपछि विश्वविद्यालय क्याम्पसमा तालाबन्दी

काठमाडौं– कांग्रेसनिकट नेविसंघको एउटा समूहले आन्तरिक विवाद मिलाउन नसकेपछि विश्वविद्यालय क्याम्पसमा तालाबन्दी गरेको छ । मंगलबार एउटा पक्षले स्ववियु उपाध्यक्ष अनोज कार्कीको मनोनयन दर्ता गराएको थियो भने अर्को पक्षले दीपकराज जोशीलाई टिकट पठायो ।
त्रिवि स्वतन्त्र विद्यार्थी युनियनमा आधिकारिक उम्मेदवार को भन्ने विषयमा विवाद हुँदा त्रिवि नेविसंघमा लफडा भएको हो । त्रिविमा नेविसंघको तर्फबाट बुधबार दुई जनाको उम्मेदवारी परेको थियो ।
कार्कीका अनुसार उनले पार्टीको केन्द्रीय सिफारिस समितिले टिकट पठाएपछि सभापतिमा मनोनयन दर्ता गराएका थिए । त्रिवि नेविसंघ सभापति विष्णु बडैलाको हस्ताक्षरमा कार्कीले उम्मेदवारी दर्ता गराएका थिए । तर, अर्को पक्षले नेविसंघ सभापति दुजाङ शेर्पाको हस्ताक्षरमा उम्मेदवारी दर्ता गरायो ।
यसरी दुईवटा उम्मेदवारी दर्ता भएपछि विश्वविद्यालय क्याम्पसको निर्वाचन समितिले अनोज कार्कीको मनोनयन नै खारेज गरिदियो, जसलाई लिएर आन्दोलनरत पक्षले आपत्ति जनाएको हो । त्यस्तै, त्रिभुवन विश्वविद्यालयमै यसअघि नेविसंघबाट कोषाध्यक्ष बनेकी पद्मा भुसालले पनि विद्रोह गरेकी छिन् । उनले विश्वविद्यालय क्याम्पसको सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।
विवाद भएका ठाउँमा पार्टीले मिलाउने भन्ने तय भएको नेविसंघका एक नेताले बताए । ‘विवादित ठाउँमा सबैतिर पार्टीले मिलाउँछ । त्रिविमा पनि त्यही हुन्छ । हामी समाधान गर्छौँ,’ नेविसंघका एक नेताले भने ।