होलीमा उपत्यकाका १२१ स्थानमा प्रहरी चेकिङ, सुरक्षा व्यवस्था कडा

काठमाडौं – होली पर्वका अवसरमा उपत्यकाभरि सुरक्षा व्यवस्था कडा पारिएको छ। उपत्यकाका तीनै जिल्लामा १२१ स्थानमा विशेष प्रहरी चेकिङ राखिएको छ। जबरजस्ती रंग दल्ने, अभद्र व्यवहार गर्ने, सवारी साधनमा नियम उल्लंघन गर्ने तथा अमर्यादित क्रियाकलाप रोक्न प्रहरीले विशेष सतर्कता अपनाएको छ।
काठमाडौं उपत्यकामा उल्लासपूर्वक मनाइने होली पर्वलाई व्यवस्थित बनाउन सुरक्षाकर्मीहरूको परिचालन बढाइएको छ। काठमाडौं प्रहरी परिसरका अनुसार विभिन्न ठाउँमा प्रहरी गस्ती, ट्राफिक चेकिङ र निगरानी राखिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य चोक, बसपार्क, थamel, दरबारमार्ग, बसन्तपुर लगायतका क्षेत्रहरूमा विशेष सुरक्षा चेकपोस्ट राखिएको छ।
सवारी चालकलाई ट्राफिक नियम पालन गर्न आग्रह
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मद्यपान गरी सवारी चलाउने तथा लापरवाही गर्नेहरूमाथि कडा कारबाही गरिने बताएको छ। मदिरा सेवन गरी सवारी चलाउनेविरुद्ध ‘ड्रिंक एण्ड ड्राइभ’ अभियान सञ्चालन गरिने छ।
होलीमा कानुन उल्लंघन गर्नेलाई कडा कारबाही
प्रहरीले होली खेल्ने बहानामा जबरजस्ती रंग दल्ने, महिलामाथि दुर्व्यवहार गर्ने वा अमर्यादित गतिविधि गर्ने जोकोहीलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ। इच्छाविपरीत लोला हान्नेहरूलाई नियन्त्रणमा लिन र निगरानी गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए ।
सुरक्षा निकायहरूले होली पर्व शान्तिपूर्ण बनाउन सबैलाई संयमित भएर रमाइलो गर्न आग्रह गरेका छन्।