सडकमा पपुलिस्ट र अराजकतावादी बढ्दै गएकाले आन्दोलनः घनश्याम भूसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आन्दोलनको घोषणा गरेको छ । सडक पपुलिष्टको कब्जामा जान लागेकाले आन्दोलन गर्नुपरेको समाजवादीका महासचिव घनश्याम भूसालले बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासचिव घनश्याम भूसालले वैशाख २२ गतेसम्मको आन्दोलनको घोषणा गरेका हुन्।
आन्दोलनका संयोजक तथा महासचिव घनश्याम भुसालले समय र प्रकृतिको हिसाबले यस आन्दोलन फरक हुने जिकिर गरे । उनले सत्ता केन्द्रित सत्ताधारी नालायक हुँदै गएको छ । सडक पपुलिस्टको कब्जामा गएकाले देश सङ्कटतर्फ फसेको बताए ।
आन्दोलनका कार्यक्रम अनुसार चैत्र २–६ सम्म मातहत कमिटीहरूमा छलफल, चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरूसँग सम्वाद तथा सुझाव संकलन, चैत्र २० गते सरकारलाई ज्ञापन पत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक सम्वाद तथा सुझाव सङ्कलन गर्ने महासचिव भूसालले जानकारी दिए।
‘समय र प्रकृतिको हिसाबले यो आन्दोलन अलग हुँदैछ । अन्य पार्टी मिसन ०८४ को तयारीमा छन् । हामी त्यसको तयारी मात्र होइन । आइरहने र गइरहने तर मुलुकलाई ठोस उपलब्धि नहुने त्यस्ता ८४ आइरहन्छन्’, उनले भने– ‘हामीले गर्ने आन्दोलन लामो हुनेछ । पार्टी र सत्ताको ठाउँ खोज्न आन्दोलन भएका छन् । तर जनताको ठाउँ खोज्ने हिसाबले यो आन्दोलन फरक आन्दोलन भएको हामीले भनेका छौँ । सत्ता केन्द्रित सत्ताधारी नालायक हुँदै गएको छ । सडकमा पपुलिस्ट बढ्दै गएको छ ।’
‘सुशासन र रोजगारी समाजवादको तयारी’ को नारा दिएर आन्दोलनमा जान लागेको भुसालले जानकारी दिए ।