नेकपा एमालेद्वारा गणतन्त्रको रक्षा गर्ने विशेष प्रस्ताव पारित
काठमाडौं । नेकपा एमालेले राजतन्त्र पुनःस्थापनाका प्रयास सफल नहुने निष्कर्ष निकाल्दै विशेष प्रस्ताव पारित गरेको छ। आइतबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले गणतन्त्रको रक्षा गर्दै संविधानको उल्लंघन हुन नदिने प्रतिवद्धता व्यक्त गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

विशेष प्रस्तावमा भनिएको छ, “लोकतन्त्र र राजतन्त्र सँगै जान सक्दैनन्। संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो। जनताको यो फैसला उल्ट्याउने कुनै प्रयास सफल हुन सक्दैन।”
पछिल्लो समय गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित गतिविधिहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण रहेको एमालेले जनाएको छ। उपमहासचिव ज्ञवालीले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो संघर्षको परिणाम भएकाले यसको रक्षा अनिवार्य रहेको उल्लेख गरे।
![]() |
![]() |
![]() |
|---|
यस्तै, राष्ट्रिय सहमतिको सरकार गठनबारे सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले अहिले त्यस्तो कुनै सम्भावना नभएको बताए। “यो बेमौसमी बहस हो,” उनले भने, “यस्तो समयमा सरकारमा भागबण्डाको कुरा उठाउनु गणतन्त्रलाई जोगाउने होइन, सत्तामा जाने भर्याङ बनाउन खोज्ने प्रयास हो।”





