नेपाली कांग्रेसभित्र हिन्दु राष्ट्रको बहस पुनः उत्कर्षमा

नेपाली कांग्रेसभित्र हिन्दु राष्ट्रको बहस पुनः उत्कर्षमा
  • ७ चैत्र २०८१, शुक्रबार ०६:१७

काठमाडौं । कांग्रेसभित्र हिन्दु राष्ट्र कायम गर्ने विषय फेरि सतहमा आएको छ। कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभाग र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले सातै प्रदेशमा छलफल गरी तयार पारेको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएपछि यो बहस पुनः चुलिएको हो।

mulpatra


२०७२ सालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि कांग्रेसभित्र असन्तुष्टि रहेको थियो। पार्टीभित्रै विभिन्न नेताहरू हिन्दु राष्ट्रको पक्षमा बोल्दै आए पनि अहिलेसम्म पार्टीले कुनै औपचारिक निर्णय गरेको छैन। तर, पछिल्ला वर्षहरूमा कांग्रेसका विभिन्न तहमा हिन्दु राष्ट्रप्रति झुकाव बढ्दै गएको देखिन्छ।


पार्टी भित्रै शशांक कोइराला, शेखर कोइराला, शंकर भण्डारीजस्ता नेताहरू खुलेर हिन्दु राष्ट्रको पक्षमा वकालत गर्न शुरु गरेपछि हिन्दूराष्ट्रका बारेमा कांग्रेसको आधिकारिक धारणा नआएपनि हिन्दु राष्ट्रको पक्षमा बहुमत कांग्रेस रहेको आंकलन गर्न थालिएको छ ।

mulpatra mulpatra mulpatra


यसै सन्दर्भमा, कांग्रेस निकट कानुनी तथा बुद्धिजीवि समूहले संविधान संशोधनका लागि दिएको प्रतिवेदनमा नेपालको प्रस्तावनामै हिन्दु राष्ट्र उल्लेख गर्नुपर्ने सुझाव दिइएको छ। उक्त प्रतिवेदन बुझ्ने क्रममा सभापति देउवाले कुनै स्पष्ट प्रतिक्रिया नजनाए पनि यो विषय अब कांग्रेसभित्र व्यापक बहसमा आउने संकेत देखिएको छ।


कांग्रेस महासमितिको बैठकमा शंकर भण्डारीको नेतृत्वमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियानसमेत भएको थियो। यता सभापति देउवाले हिन्दु राष्ट्रबारे प्रतिवेदन बुझ्दा कुनै स्पष्ट प्रतिक्रिया नदिएर प्रतिवेदनलाई महत्वपूर्ण सामाग्री भनेका कारण पनि कांग्रेसभित्र हिन्दु राष्ट्रबारे बहसलाई औपचारिकता दिन सक्छ।


धर्मनिरपेक्षताको सट्टा ‘धार्मिक स्वतन्त्रता’ राख्ने सुझाव केही नेताहरुको रहेकाले पनि कांग्रेसभित्र हिन्दु राष्ट्रको माहोल बनेको कतिपयका बुझाई छ । यदि यस्तो परिवर्तन भयो भने, नेपाल हिन्दु राष्ट्रकै रूपमा रहने सम्भावना बलियो बन्छ।

Image Source: © https://mulpatra.com

संविधान संशोधनका अन्य विषयहरू
प्रतिवेदनमा संविधान संशोधनका लागि हिन्दु राष्ट्रबाहेक अन्य महत्त्वपूर्ण विषयहरू पनि समेटिएका छन्, संसदीय संरचनामा परिवर्तनका विषयमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सिट संख्या घटाउने, समानुपातिक प्रणाली हटाउने, र राष्ट्रियसभालाई पूर्ण रूपमा समानुपातिक बनाउने जस्ता विषय जोडदार रुपमा उठाउन थालिएको छ ।


कांग्रेसमा अहिले पनि बहुमत नेताहरू धर्मनिरपेक्षताको पक्षमा देखिए पनि हिन्दु राष्ट्रका पक्षधरहरू क्रमशः संगठित हुँदै गएका छन्। डा। शशांक कोइराला, डा। शेखर कोइराला, शंकर भण्डारी जस्ता नेताहरू खुला रूपमा हिन्दु राष्ट्रको पक्षमा वकालत गरिरहेकाले त्यसको पुष्टि गरेको छ ।


यसअघि पनि कांग्रेसको विभिन्न बैठकहरूमा हिन्दु राष्ट्रको मुद्दा उठाइएको थियो, जसमा धेरै सदस्यहरूले हस्ताक्षरसमेत गरेका थिए। तथापि, पार्टीले यो विषयलाई औपचारिक रूपमा अंगीकार गरेको छैन।
धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता अपनाउनु पर्ने धारणा राख्नेहरू पनि पार्टीभित्र छन्। बिपी कोइरालाको विचार अनुसार, राज्यको कुनै धर्म हुन नहुने तर नागरिकलाई धर्म मान्न पूर्ण स्वतन्त्रता हुनुपर्ने तर्क पनि कांग्रेसभित्र जीवितै छ।


कांग्रेसभित्र हिन्दु राष्ट्रको बहस नयाँ होइन, तर हालैको प्रतिवेदनले यसलाई थप सशक्त बनाएको छ। पार्टी नेतृत्वले यसबारे स्पष्ट धारणा नदिए पनि अबको दिनमा यो विषय कांग्रेसको औपचारिक एजेन्डामा समेटिन्छ वा पूर्ववत् रहन्छ भन्ने प्रश्न पेचिलो बन्दै गएको छ। कांग्रेसले हिन्दु राष्ट्रको पक्षमा स्पष्ट रूपमा उभिएमा यो राजसंस्थाको पुनर्स्थापनासँग कसरी गाँसिन्छ भन्ने प्रश्न पनि बहसको अर्को केन्द्र बन्न सक्छ।