नजरबन्दमा नवराजः प्रहरीले गरिदियो मोबाइल स्वीच्ड अफ, परिवार र आफन्तमा पनि कडाइ
काठमाडौं– ८७ वर्षीय बयोवृद्ध नेता नवराज सुवेदी आफ्नै घरभित्र नजरबन्द छन् । जीवनको उत्तरार्द्धमा राजा फर्काउन कस्सिएका उनले कठिन परिस्थितिको सामना गर्नुपरेको छ ।

अस्ति राजावादीहरूले गरेको आन्दोलन अशान्तिपूर्ण बनेपछि सुवेदीलाई सरकारले आफ्नै घरभित्र कैद गरिदिएको हो । उनको गुह्येश्वरी घरको बाहिर सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । घरको छेउछाउमा हिँडडुल गर्न कडाइ गरिएको छ भने फोटो खिच्न रोक लगाइएको छ ।
गुह्येश्वरी हाइटमा रहेको नवराजको घरमा अहिले ६ जना बस्छन् । तीनजना परिवारका सदस्य नवराज, उनकी पत्नी र छोरा हुन् भने अन्य तीन नजिकका आफन्त हुन् । उनीहरू सबैलाई बाहिर निस्किन कडाइ गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
पारिवारिक स्रोतले भन्यो, ‘हामीलाई एकपटक बाहिर निस्किएपछि भित्र पस्न नपाउने भनिएको छ । तरकारी र अत्यावश्यक वस्तु खरिदका लागि एकपटक जान दिइन्छ ।’
सुवेदीले आफ्नो मोबाइल फोन प्रयोग गर्न पाएका छैनन् । प्रहरीले उनको मोबाइल स्वीच्ड अफ गरेर एक ठाउँमा राखिदिएको र अन नगर्न चेतावनी दिएर हिँडेको पनि पारिवारिक स्रोतले बतायो । घरको इन्टरनेट भने काटिएको छैन ।
नजरबन्दमा भएदेखि पार्टी र अभियानका नेताहरुसँग नवराजको सम्पर्क लगभग विच्छेद भएको छ । केही नेता हिजो उनको घरसम्म पुगे पनि सुरक्षाकर्मीले फर्काइदिएका थिए । नवराजका छोरा र श्रीमतीलाई पनि फोनमा कडाइ गरिएको छ ।
Image Source: © https://mulpatra.com
नवराजका छोराले कनक सुवेदीले बुवाआमाको स्वास्थ्य हेरविचार गर्ने गरेका छन् । उमेरले ९० छुन आँटे पनि नवराज शारीरिक र मानसिकरूपमा सबल नै छन् । उनको मनोबल पनि उच्च छ । आफ्नै जीवनकालमा राजसंस्था फर्किन्छ भन्नेमा उनी आशावादी रहेको निकटस्थ स्रोतहरू बताउँछन् ।



