तीनकुने प्रदर्शनमा मञ्चमा राष्ट्रगान बज्दै गर्दा प्रहरीले हानेकाे अश्रुग्यासको भिडियो फेक थिएन

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीले सुरक्षा रणनीति होइन, घातक हतियारको सहारा लिएको प्रहरीकै गोप्य प्रतिवेदनबाट खुलेको छ ।
तीनकुने घटनामा प्रहरीको कमजोरी देखाउने एकपछि अर्को भिडिओ सार्वजनिक हुन थालेपछि प्रहरी प्रधान कार्यालयले एकाएक चैत २० गते प्रतिरक्षा गर्न पत्रकार सम्मलेन ग¥यो । उक्त पत्रकार सम्मेलनमा तीनकुनेमा राजावादीले कार्यक्रम गदै गर्दा मञ्चमा राष्ट्रगान बज्दै गर्दा हानेको भिडियो भने देखाइएको छैन । फिल्डमा खटिएका प्रहरीकै अनुसार उक्त भिडियो फेक होइन । राजावादीको प्रदर्शन तिरबितिर बनाउन अश्रुग्यास प्रहार गर्दा मञ्चमा पुगेको हो ।

नेपाल प्रहरीको डीआईजी दिनेश आचार्यले उक्त भिडियो फेक भएको दाबी गरिरहेका छन् । फेक भएको कसरी प्रमाणित गर्नु भयो र किन पत्रकार सम्मेलनमा देखाउनु भएन भन्ने प्रश्नमा अझै अनुसन्धान भइरहेको भन्ने मात्र उनले जवाफ दिए ।
चैत १५ गते तीनकुनेमा भएको राजावादी समर्थकहरूको प्रदर्शनका क्रममा स्टेजमा अश्रुग्यास हानेको भनिएको भिडिओ ‘डिपफेक’ भएको प्रहरीले दाबी गरेको छ । तर सामाजिक सञ्जालमा भाइरल भिडिओ फेक नभएको आन्दोलनका प्रवक्ता स्वागत नेपाल बताएका छन् । प्रहरीले दमनका सत्यता लुकाउन झुटो प्रचार गरेको उनको आरोप छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले चैत २० गते तयार पारेको एक गोप्य रिपोर्टमा भने डीआईजी दिनेश आचार्यले भनेको भन्दा दोब्बर संख्यामा त ‘जंगी राउन्ड’ नै फायर भएको उल्लेख छ ।

उनकको गोप्य ३९ पृष्ठको रिपोर्ट अनुसार प्रहरीले सो दिन प्रहार गरेको ‘जंगी राउन्ड’ को संख्या मात्रै ९२ छ । डरलाग्दो पक्ष त के छ भने यसमध्ये सबैभन्दा बढी गोली अर्धस्वचालित हतियार ‘सेल्फ लोडिङ’ राईफल (एसएलआर) बाट प्रयोग भएको छ । यस विषयमा गृहमन्त्री र प्रहरी प्रमुख अहिलेसम्म मौन छन् । यसका रिपोर्ट हिमालखबर अनलाइनमा समाचार लेखिएको छ ।
तीनकुनेमा राजसंस्था ब्युँताउने राजावादीले गरेको आन्दोलनको नेतृत्व गरेका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कार्यक्रममा आउनुअघि नै प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रसाईले पनि अज्ञात स्थलबाट गरेको भिडियो सन्देशमा पनि यो विषय बताएका थिए ।
निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरको संसद् भवन र सिंहदरबार कब्जा गर्ने भन्दै अगाडि बढेको भीडलाई प्रहरीले पहिला नै हिंसात्मक बनाएको फिल्डमा खटिएको प्रहरीहरु नै बताउँछन् ।
प्रहरीकै भनाईलाई आधार मान्ने हो भनेपनि समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा भृकुटीमण्डपमा गरेको प्रदर्शनीमा एक हजार प्रहरी खटिएको मान्ने हो भने पनि तीनकुनेमा लगभग एक आन्दोलनकारीलाई नियन्त्रण गर्न एक प्रहरी परिचालन भएको आँकडा निस्कन्छ । यसबाहेक सशस्त्र प्रहरी पनि प्रहरीको ‘ब्याकअप’का लागि खटिएको थियो ।
तीनकुने घटनाले प्रहरीको सुरक्षा रणनीतिमा थुप्रै चुक भएको छरपस्ट भएको उनीहरुकै भनाइ छ । भीड नियन्त्रणका लागि खटिएको प्रहरीले प्लान ’ए’, प्लान ’बी’ जस्ता वैकल्पिक सुरक्षा रणनीति बनाउनै नसक्दा उल्टो आन्दोलनकारीमाथि आरोप लगाउनुपरेको प्रहरीहरुकै भनाइ छ ।