पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड बन्द हुँदा कुन बाटो प्रयोग गर्ने ?
काठमाडौं– बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी साधनको आउ–जाउ बन्द गरेर सडक मर्मत गरिने भएको छ ।

बर्दघाटदेखि दुम्कीबाससम्मको करिब १४ किलोमिटर खण्डमा खाल्डाखुल्डी र धुलोले गर्दा यात्रा कष्टकर भएकाले सो खण्डमा अत्यावश्यक बाहेकका सवारी बन्द गरेर सडक मर्मत गर्न लागिएको हो । दाउन्ने सडकखण्ड बन्द भएमा पूर्व–पश्चिम यात्राका लागि वैकल्पिक बाटो छ कि छैन ? अनलाइनखबरको यो जिज्ञासामा पूर्वी नवलपरासी (नवलपुर)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले भने, ‘पूर्वबाट पश्चिमतर्फ जानका लागि गैंडाकोटबाट पाल्पा हुँदै बुटवल निस्किने बाटो छ । तर त्यहाँ साना गाडीहरुमात्र चल्छन् ।’
साना–ठूला सबै गाडीहरुका नारायणगढ–मुग्लिन–पोखरा–पाल्पा हुँदै बुटवल आउ–जाउ गर्ने अर्को उपयुक्त बाटो भएको उनले बताए । उनका अनुसार अहिले पनि केही गाडीहरुले यही रुट प्रयोग गर्दै आएका छन् । पश्चिमतर्फबाट पूर्व जाने वा राजधानी काठमाडौंसम्म पुग्ने गाडीवालाले पनि बुटवल–पाल्पा–पोखरा–मुग्लिनको बाटो प्रयोग गर्दै आएका छन् ।
![]() |
![]() |
![]() |
|---|
यो बाटोमा साना–ठूला सबै प्रकारका गाडीहरु चल्छन् । तर यो रुट लामो र घुमाउरो छ । त्यसैले बसवालाले यात्रुहरुबाट करिब चार सयदेखि पाँच सय रुपैयाँ थप भाडा लिने गरेका छन् । बर्दघाटभन्दा माथितिरबाट भुताहा भन्ने ठाउँमा निस्किने एउटा कच्ची बाटो छ । तर त्यो पनि साँघुरो र जोखिमयुक्त छ । त्यसैले यो बाटोमा ठूला गाडी चल्न सक्दैनन्, साना गाडीहरुलाई पनि जोखिमपूर्ण छ ।
त्यसैले सवारी चालक तथा यात्रुहरुका लागि बुटवल–पाल्पा–पोखरा हुँदै मुग्लिन आउ–जाउ गर्ने रुट उपयुक्त विकल्प हुनसक्छ । तर त्यो बाटो प्रयोग गर्ने सार्वजनिक सवारी चालकले यातायात कार्यालयबाट रुट परमिट लिनुपर्ने हुन्छ ।
दाउन्ने खण्डमा हाल धुलो, खाल्डाखुल्डी भएकाले यात्रा कष्टकर छ । गाडीहरु बीच बाटोमै बिग्रिनाले यात्रुहरु घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता छ । त्यसैले जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व (नवलपुर)ले चैत २७ गतेदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको छ ।
Image Source: © https://mulpatra.com
यसैगरी आउँदो २०८२ साल बैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म पनि सडक बन्द गरिने छ । यो अवधिमा अत्यावश्यक सेवाका गाडीहरुमात्र चल्न दिइने छ ।
शनिबार पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेसहितको टोलीले दाउन्ने क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सम्बन्धित पालिका प्रमुख, ठेकेदार र आयोजनाका प्रतिनिधिहरुसहित बसेको बैठकले सवारी साधन बन्द गरेर सडक मर्मत तथा बिस्तारको कामलाई तीव्रता दिने निर्णय गरेको थियो ।
‘ठेकेदार र आयोजनाका प्रतिनिधिहरुसँग कुरा गर्दा सवारी आउजाउले काममा डिस्टर्ब भएकाले केही दिन रोकिदिए हुन्थ्यो भन्ने कुरा आयो, त्यसैले हामी अत्यावश्यक बाहेकका सवारी साधनहरु बन्द गरेर सडक मर्मत गर्ने निर्णयमा पुगेका छौं,’ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भविश्वर पाण्डेले भने, ‘हामी यात्रुहरुलाई बन्दको समयमा यात्रा नगर्न वा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गर्दछौं ।’



